RSS

कहिले पूरा होला यी कलिला मुनाहरुको सपना ?

26 Nov

बाबाको माया खै कस्तो हुन्छ सुर्खेतकी शान्ति सुनारलाई थाहै छैन रे । भर्खर साढे ५ वर्षकी मात्र भएकी उनले बाबालाई देखेकै छैनन् । शान्ति जन्मिएको वर्षदिन नपुग्दै उनका बाबा शहिद भइसकेका थिए, जनयुद्धमा । तर, उनी बाबाले ल्याइदिएको कुर्ता सुरुवाल लगाउने आशा सांचेर बसेकी छिन् । अबोध शान्तिलाई अझैं थाहा छैन बाबा कहिल्यै आउने छैनन् र कुर्ता सुरुवाल पनि ल्याउने छैनन् ।

‘मम्मीले भन्नुभएको, म ठूलो भएपछि बाबाले मलाई कुर्ता सुरुवाल ल्याइदिनुहुन्छ रे ।’ दुधरासस्थित शहिद स्मृति छात्रबासमा भेटिएकी उनले भुई कोट्याउंदै भनिन्- ‘तर, मम्मी पनि कस्तो-कस्तो ? बाबा कहां हुनुहुन्छ कहिल्यै भन्नुहुन्न ।’ शान्तिलाई शहिद भनेको के हो थाहा छैन तर सबै साथीहरुले आ-आफ्ना बाबा शहिद भएको भन्दा आफ्नो बाबा पनि शहिद भएका हुन् कि भन्ने अनुमान गर्न थालेकी छिन् उनले ।

बांके कुसुमकी राधा कुमाल पनि शहिद स्मृति छात्रबासमा बसेर पढिरहेकी छिन् । दश वर्षे जनयुद्धमा उनले आमा, बाबा र फूपुलाई समेत गुमाइन् । पालैपालो बाबा, आमा र फूपुलाई गुमाउनुपर्दाको घटना सम्झदा अहिले पनि उनको मन भक्कानिएर आउंछ । कक्षा ८ मा पढिरहेकी उनी आफूजस्तै थुप्रै साथीहरुसंग दुःख पीडा साटासाट गरेर मन बुझाउने गरेको बताउंछिन् । संकटकालको बेला उनकी आमा आशा कुमाल र बुवा दिपक कुमाललाई तत्कालिन शाहीसेनाले हत्या गरेको थियो भने फूपु झरनाको भीडन्तमा शहादत भएको थियो ।

राधाजस्तै बांके कुसुमकै पूजा कुमालको पीडा पनि उस्तै छ । माओवादीका स्थानीय कार्यकर्ता बुवालाई सरकारी सेनाले हत्या गरेको वर्षदिन नबित्दै आमा गंगालाई पनि गुण्डाहरुले हत्या गरे । आमाबाबा दुवैको हत्या भएपछि बेसहारा बनेका दुई दिदीबहीनी आफन्तको घरमा बसेर बिताएको उनी बताउंछिन् । कक्षा ५ मा पढिरहेकी उनी गत वर्षदेखि छात्रबासमा बस्दै आएकी छिन् भने उनकी दिदी आफन्तको घरमा बसेर गाउंमै कक्षा १० मा पढ्दैछिन् ।

पीडा पनि खै कस्तो-कस्तो ? दुःखजति सबै एउटैको थाप्लोमा पर्नु । बुवा सिद्धिबहादुर शाही र आमा पद्मा शाहीलाई तत्कालिन शाहीसेनाले हत्या गरेपछि सहाराविहीन बनेका कालिकोट जुविथाका बसन्त शाहीले एक वर्षपछि दाई संगतलाई पनि गुमाउनुपर्‍यो । सानैमा अविभावक गुमाएर बेसहारा बनेपछि अन्य आफन्तजन र पार्टी कार्यकर्ताहरुको घरमा बस्दै र पढ्दै दिन बिताएको उनी बताउंछन् । गत बैशाखदेखि शहिद स्मृति छात्रबासमा बसेर कक्षा ८ मा पढिरहेका बसन्त द्वन्द्वपीडित बालबालिकाहरुको पठनपाठनका लागि पहल गरी शहिद स्मृति प्रतिष्ठानले आफूहरुको भविष्य देखाइदिएकोमा खुसी व्यक्त गर्छन् ।

शान्ति, राधा, पूजा र बसन्तमात्रै हैन, उनीहरुजस्तै रोल्पा, रुकुम, सल्यानदेखि हुम्ला, जुम्ला, कालिकोट एवं कैलाली, कञ्चनपुरदेखि कपिलवस्तुसम्मका डेढ सय बढी द्वन्द्वपीडित बालबालिकाहरुको जमघट छ दुधरासमा । उनीहरुको गांस, बास, कपास र शिक्षा, स्वास्थ्य लगायत अविभावकत्वको  पूरै जिम्मा शहिद स्मृति प्रतिष्ठानले लिएको छ ।

उसो त छात्रबासमा अविभावक गुमाएका बालबालिकामात्रै छैनन्, सशस्त्र द्वन्द्वको क्रममा तत्कालिन सरकारी सेना र प्रहरीको मानसिक तथा शारीरिक यातना एवं अन्धाधुन्ध हवाई तथा स्थल आक्रमणको मारमा परेका बालबालिकाहरु पनि छन् । त्यसैको एक उदाहरण हुन्, जाजरकोट जुनी दहका १५ वर्षीय लक्ष्मण बुढामगर । उनी ५ वर्षदेखि शरीरमा बमका छर्रा बोकेर बांचिरहेका छन् । ०६१ भदौ १ गते नजिकैको ओर्ताङ गाउंमा सरकारी सेनाले हेलिकोप्टरबाट अन्धाधुन्ध बमबाडी गरेपछि आफू घाइते भएको उनी बताउंछन् । ‘बेलुका ४ बजेतिर हुनुपर्छ, गाउंमा माओवादीको कार्यक्रम थियो, एक्कासी हेलिकोप्टरले बम हान्न लाग्यो’- उनले भने- ‘सबै जंगलतिर भागे, म पनि यताउती दौड्दै थिए, हेलिकोप्टरले मेरो नजिकै बम खसालेछ, म त्यहीनेरै ढलेछु थाहै पाइन ।’ बमले लागेर उनका दुवै खुट्टा भांचिएका छन् । दायां खुट्टाको घाउ निको भएपनि बायां खुट्टा पूरै बाङ्गो भएको छ । अहिले पनि वायां खुट्टामा बमका छर्राहरु रहेको उनले बताए ।

‘संकटकालको बेला, उपचार गर्न कहां जाने ? घाइते भएको भेटाएपछि सेनाले मारिहाल्थ्यो । जनसेनाहरुले कहिले जंगलमा, कहिले गाउंलेहरुको घरमा राखेर १ वर्षसम्म उपचार गरे’-उनले भने- ‘शान्तिकालपछि एकपटक काठमाण्डौं गएर देखाउंदा डाक्टरले अझैं खुट्टामा बमका छर्रा छ, निकाल्नलाई धेरै खर्च लाग्छ भनेको छ । खोई, मेरो उपचार कसले गरिदेला ?’ खुट्टामा लागेको घाउमा बाहिरबाट खाटो बसेपनि भित्र बमका छर्राहरु बांकी नै छन् । बाङ्गएिको खुट्टा सीधा त होला/नहोला तर उनी उपचारको आशमा बांचिरहेका छन् । द्वन्द्वको क्रममा उनले आफ्ना खुट्टाहरु मात्रै गुमाएका छैनन्, दाई खड्कबहादुर बुढालाई पनि गुमाएका छन् । आफू ४ बर्षको हुंदा खेत रोप्न गएका दाईलाई माओवादीको आरोपमा पुलिसले ०५५ साल असारमा हत्या गरेको थियो । पुलिसले गाउंमा मच्चाएको दमन, आतंक र दाईको हत्यापछि बाध्यताले परिवार नै माओवादी बन्नुपरेको उनी बताउंछन् ।

अलग-अलग ठाउं र फरक-फरक घटना भएपनि पीडा सबैका उस्तै-उस्तै छन् । कसैले सशस्त्र द्वन्द्वको क्रममा बाबा गुमाएका छन् त कसैले आमा, कसैले दाई र दिदीहरु गुमाएका छन् त कसैले बाआमा र दाजु दिदीहरुसमेत गुमाएका छन् । कसैका अविभावक द्वन्द्वमा परी अङ्गभङ्ग भएका छन् त कोही घरबारविहीन । पीडैपीडाको सागरमा हुर्किएका विचित्रका बालबालिकाहरुको जमघट छ छात्रबासको बसाईमा । कल्कलाउंदो उमेरमै बाआमा र अविभावक गुमाएर बेसहारा बनेका उनीहरुको पीडा सुन्दा त्यसै त्यसै टाउको भारी भएर आउंछ ।

बाआमा र अविभावक गुमाएर बेसहारा बनेका उनीहरु बांकी आफन्तजनभन्दा टाढा भएर पनि हांसी खुसी नियमित कार्यतालिका भित्र रहेर पढ्छन्, लेख्छन्, खेल्छन्, रमाउंछन् । पढाईमा लगनशील र अनुशासित उनीहरु कोही डाक्टर, शिक्षक बन्ने त कोही जनसेना बन्ने लक्ष्य राखेको बताउंछन् । कोही भने देश र जनताको मुक्तिका निम्ति लड्दालड्दै शहिद बनेका बाआमा र आफन्तजनका अधुरा सपना साकार पार्ने यात्रामा लामबद्ध हुने अठोट व्यक्त गर्छन् ।

सशस्त्र द्वन्द्वले यी बालबालिकाहरुको घरपरिवार र रमाइलो संसार त क्षतविक्षत पार्‍यो नै, अझैं पनि कहिलेकाहीं खाटो बस्नै लागेका पुराना घाउहरु उप्किन थालेको अनुभूति हुन्छ रे उनीहरुलाई । र, पनि उनीहरु विगतका कहालीलाग्दा दिनहरु भुल्दै सुन्दर भविष्यको कल्पना गरिरहेका छन् । के उनीहरुका असीमित दुःख, पीडा र खाटो बस्दै गरेका घाउहरु निको पार्न र उनीहरुले कल्पना गरेको सुन्दर सपनाको संसार निर्माण गर्न सकिएला ?

 डिल्ली मल्ल

dillimalla@gmail.com

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 26, 2009 in BLOG, NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: