RSS

नागरिक सर्वोच्चता नहुंदा होन्डुरसमा अमेरिकी हस्तक्षेप

04 Dec

–       पुष्पराज आचार्य

ल्याटिन अमेरिकी मुलुक होन्डुरसमा व्यापक विरोधका बाबजुद आइतबार राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको पृष्ठभूमि र यसमा अपनाइएका हथकन्डाबाट होन्डुरसको राजनीतिमा अमेरिकी हस्तक्षेप स्पष्ट देख्न सकिन्छ । संविधानसभाका विरोधी तथा राष्ट्रपति म्यानुअल जेलायालाई गरिएको अपदस्थका समर्थक अमेरिकी कठपुतली उम्मेदवार पोफिर्रियो लोबोले निर्वाचन जितेका छन् । उनको जितसंगै समाजवाद उन्मुख ल्याटिन अमेरिकामा फेरि अमेरिकी साम्राज्यवादको योजना सफल भएको छ । अमेरिकी साम्राज्यवादविरोधी मोर्चाका रूपमा विकसित हुंदै गएको ल्याटिन अमेरिकामा कोलम्बिया, पेरुलगायतका राष्ट्रले अमेरिकालाई त्यस क्षेत्रमा घुस्न सहयोग पुर्‍याउंदै आएका छन् ।

यो निर्वाचनका पछाडि गम्भीर षड्यन्त्र लुकेको छ । राष्ट्रपति म्यानुअल जेलायाले ‘संविधान संशोधन आवश्यक छ वा छैन र यदि छ भने संविधानसभाको निर्वाचन गराउन सकिन्छ’ भन्ने विषयमा जनमतसंग्रह गराउन चाहेका थिए । जनमतसंग्रह गराउनुका पछाडि भेनेजुयला र बोलिभियामा जस्तै राष्ट्रपतिले दुई कार्यकालभन्दा बढी निर्वाचनमा उम्मेदवार बन्न पाउने गरी संविधानमा संशोधन गर्ने जेलायाको स्वार्थ हो भन्ने आलोचकहरूले टिप्पणी गरेका छन् । विशेषगरी जेलायाका विरोधीहरूले यसै विषयलाई बढी मात्रामा उठाएका पनि छन् । अमेरिकी साम्राज्यवादविरोधी जेलायाले राष्ट्रपतीय कार्यकाल बढाउन चालेको योजना सफल भएमा होन्डुरसमा सधैंका लागि अमेरिकी हस्तक्षेप समाप्त हुने निष्कर्षमा अमेरिकाले जेलायालाई अपदस्थ गर्न त्यहांको सेनालाई सहयोग पुर्‍याएको विश्लेषण यतिबेला ल्याटिन अमेरिकामा गरिएको छ ।

गत जुन २८ तारिखका लागि तय गरिएको जनमतसंग्रहका लागि मतपेटिका लगायत निर्वाचन सामग्री देशका विभिन्न ठाउंमा लैजान जेलायाले जुन २४ मा सेनालाई निर्देशन दिएका थिए । तर, जननिर्वाचित राष्ट्रपतिको निर्देशनलाई सेनाप्रमुखले ठाडै अस्वीकार गरेपछि स्थितिले जटिल रूप लिन पुग्यो । वास्तवमा सेनाले जननिर्वाचित राष्ट्रपतिको निर्देशन अटेर गर्नुका पछाडि ठूलै शक्तिकेन्द्रको आडभरोसा थियो । र, त्यो शक्तिकेन्द्र अरू कोही नभएर अमेरिका थियो भन्ने कुरा जेलायाको अपदस्थपछि पनि उसले त्यहांको अन्तरिम सरकारलाई दिंदै आएको सहयोगबाट पुष्टि भएको छ । यसका साथै ल्याटिन अमेरिकामा गुम्दै गएको आफ्नो साम्राज्य पुनर्स्थापीत गर्न अमेरिकाले त्यस क्षेत्रका ठूलै शक्ति लगाइरहेको सबैलाई थाहा भएकै कुरा हो ।

नागरिक सर्वोच्चता स्वीकार नगर्ने प्रधानसेनापति रोमियो भाजक्विजलाई जेलायाले पदमुक्त गरेपछि होन्डुरसका दक्षिणपन्थीहरूले कोलाहल नै मच्याए । प्रधानसेनापतिलाई बर्खास्त गरेको चार दिनका दिन सेनाले मध्यरातमा जेलायालाई राष्ट्रपति भवनमा बन्दी बनायो र कोष्टारिका निर्वासित गर्‍यो । होन्डुरसमा सिधै सैनिक शाषन नलगाई तथाकथित प्रतिनिधिसभाका सभामुखलाई राष्ट्रपतिको कार्यभार सम्हाल्न लगाइयो र नागरिक सर्वोच्चता कायम रहेको नाटक रचियो ।

कार्यकारी प्रधानमन्त्रीय शाषन व्यवस्था भएको भए सैनिक ‘कू’ पश्चात् होन्डुरसमा सेरेमोनियल राष्ट्रपतीय शाषन लादिन्थ्यो, तर त्यहां कार्यकारी राष्ट्रपति भएको हुंदा सभामुखलाई राष्ट्रप्रमुख बनाइयो । यस घटनाले सेना जननिर्वाचित सरकारको मातहतमा नआउंदा विदेशी शक्तिकेन्द्रले कसरी शाषन व्यवस्थामा खेल्न र हस्तक्षेप गर्न सक्दा रहेछन् भन्ने कुराको पुष्टि भएको छ । वास्तवमा यस घटनाले नागरिक सर्वोच्चताको महत्त्वलाई अझ बढाइदिएको छ । जबसम्म सेना जननिर्वाचित सरकारको मातहत आउन सक्दैन यस्ता घटना विश्वमा दोहोरिइरहनेछन् ।

पछिल्ला वर्षमा ल्याटिन अमेरिकामा समाजवादी अर्थव्यवस्था हुर्कंदै गएको थियो । यसबाट अमेरिकी पुंजीवादी साम्राज्यले निकै ठूलो धक्का महसुस गरेको थियो । त्यस क्षेत्रमा हस्तक्षेप कायम राख्न अमेरिकाले हालै कोलम्बियामा सातवटा सैनिक शिविर खडा गरेको छ । कोलम्बियामा सशस्त्र युद्ध गर्दै आएको क्रान्तिकारी समूह फार्कलगायत विभिन्न समूहले कोकिनजस्ता लागूऔषधको व्यापार गरेको र त्यसलाई रोक्ने नाममा अमेरिकाले बोलिभियामा समेत आफ्ना एजेन्सी तैनाथ गरेको छ । यस्ता एजेन्सीहरू वास्तवमा ल्याटिन अमेरिकामा बढ्दै गएको समाजवादीकरण र साम्राज्यवाद विरोधी अभियानलाई नामेट गर्न अमेरिकाले योजनाबद्ध ढंगले काम गर्दै आएको छ ।

अमेरिकासंग ठाडै जोरी खोज्ने भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजका कट्टर सहयोगी रहेकाले पनि म्यानुअल जेलाया अमेरिकीको आंखाको तारो बनेका थिए । यद्यपि हरेक वस्तुको सकारात्मक र नकारात्मक तत्त्व आफैंमा अन्तरनिहित हुन्छन् । अमेरिकाले होन्डुरसमा मात्र नभई ल्याटिन अमेरिकाभर हुर्कंदै गरेको समाजवादी अर्थ व्यवस्था तहसनहस पार्न र आफ्नो साम्राज्य फैलाउन सक्दो प्रयास गर्दै आएको छ । तर, भेनेजुयला, बोलिभिया, इक्वेडर, अर्जेन्टिना, ब्राजिल लगायतका ल्याटिन अमेरिकी देशमा उसको प्रयासले काम गरेको छैन । गतवर्ष भेनेजुयला र बोलिभियाले आफ्ना देशमा रहेका अमेरिकी राजदूतलाई देशनिकाला गर्दा समेत अमेरिकाले केही गर्न सकेन । यसो हुनुका कारण ती देशको राजनीतिक स्थिति मजबुत थियो अर्थात् त्यहां नागरिक सर्वोच्चता स्थापित थियो भन्न सकिन्छ ।

ल्याटिन अमेरिकी मुलुकमा विशेषगरी भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज, बोलिभियाका राष्ट्रपति इभो मोरालेस, इक्वेडरका राष्ट्रपति राफेल कोरिया, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डि सिल्भा लगायतका नेताले अमेरिकी साम्राज्यवादबाट ल्याटिन अमेरिकालाई जोगाउन ठूलो भूमिका खेलेका छन् । तर, अमेरिकाले त्यस्तो मुलुकलाई आफ्नो साम्राज्यवादी पन्जाभित्र जकड्ने प्रयास गर्‍यो जहांको शाषन व्यवस्थामा भित्र घुसपैठ गर्न सजिलो थियो ।

निश्चित रूपमा ‘जहां कमजोर हुन्छ, त्यही नै शत्रुले हिर्काउंछ ।’ होन्डुरसमा समाजवाद उन्मुख अर्थ व्यवस्था अपनाउन जेलायाले प्रयास गरे तापनि पुंजीवादी सत्ता रहंदा स्थापना भएको त्यहांको सेनालाई उनले जनपक्षीय (लोकतान्त्रिक) बनाउन सकेनन् । जसको फलस्वरूप होन्डुरसको सेनालाई अमेरिकाले आफ्नो पक्षमा पार्न सफल भयो र सैनिक ‘कू’ मार्फत जेलायालाई अपदस्थ गरियो ।

आइतबार सम्पन्न आमनिर्वाचनमा प्रतिपक्षी उम्मेदवार लोबोले ५६ प्रतिशत मत आफूले प्राप्त गरेको दाबी गरेका छन् । ६५ प्रतिशतभन्दा बढी जनताले बहिष्कार गरेको सो निर्वाचनलाई अमेरिका लगायत उसका समर्थक क्यानडा, पेरु, कोष्टारिका र पनामाले निर्वाचन शान्तिपूर्ण र बढीभन्दा बढी होन्डुरसको सहभागिता रहेको भनेर वैधता दिएका छन् । तर, राष्ट्रपति जेलाया र उनका समर्थकले सो निर्वाचनलाई अवैधानिक घोषणा मात्र गरेनन् बहिष्कारका लागि देशव्यापी प्रदर्शनसमेत गरेका छन् ।

जेलायालाई अपदस्थ गरेपछि उनलाई पुनर्स्थापना गर्न बहुसंख्यक ल्याटिन अमेरिकी देशलगायत विश्वबाट आवाज उठिरहेका बेला अमेरिकाले निर्वाचनलाई समस्याको समाधान मान्यो । साम्राज्यवादीले निर्वाचनलाई आफ्नो अचुक अस्त्रका रूपमा प्रयोग गर्दै आएका छन् । यस्ता निर्वाचन आफ्नो अनुकूल भएमा शान्तिपूर्ण र बृहत् जनसहभागिता भनेर प्रचार गर्ने तर आफ्नो प्रतिकूल भएमा विभिन्न बहानाबाजीबाट निर्वाचन रद्द गर्ने उनीहरूको प्रयास हुने गरेको छ । यस चुनावलाई वैधानिक र शान्तिपूर्ण देखाउनका लागि आइतबार पांच सय ८० जना अन्तर्राष्ट्रिय पर्यवेक्षक होन्डुरस पुगेका थिए । जसमा धेरैजसो अमेरिकी थिए ।

कोष्टारिकाको मध्यस्थतामा गत अक्टोबरमा जेलाया र सैनिक ‘कू’ मार्फत सत्तामा आएका रोवर्टो मिचेलेटीले सान जोसे सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, त्यसको केही दिनपछि मिचेलेटीले सो सम्झौताअनुसार काम गरेनन् अर्थात् जेलायालाई पुनर्स्थापना गर्न अस्वीकार गरे । यसो गर्नुमा पनि अमेरिकीहरूले उक्साएका थिए । अमेरिकाले सीधै होन्डुरसको मामिलामा विश्व समुदायभन्दा फरकमत राख्न चाहेन, तर उसले मिचेलेटीको मुखबाट जेलायालाई पुनर्स्थापित नगर्ने बरु निर्वाचन गर्ने कुरा बोलिरहेको थियो । विश्व समुदायले जेलायाको पुनर्स्थापना गरेपछि मात्र निर्वाचन गर्न दबाब दिए तापनि अमेरिकाले निर्वाचनबाट प्राप्त परिणामलाई स्वीकार गरिने कुरालाई जोड दिइरह्यो ।

अर्जेन्टिना, भेनेजुयला, ब्राजिललगायतका ल्याटिन अमेरिकी मुलुकले यस निर्वाचनको परिणामलाई अस्वीकार गर्ने चेतावनी दिंदै आएका थिए । होन्डुरसका लोकप्रिय नेता जेलाया लगायत उनका ल्याटिन अमेरिकी सहयोगीले चुनावलाई बहिष्कार गर्ने घोषणा गरेपछि त्यस मुलुकका ६५ प्रतिशत जनताले चुनाव बहिष्कार गरे वा चुनावको विरोधमा उत्रिए । सैनिक ‘कू’ प्रतिरोध संस्थाका संयोजक राफेल अलेग्रियाले अपदस्थ राष्ट्रपति म्यानुअल जेलायालाई समर्थन गर्ने जनताले आन्दोलनमार्फत चुनाव जितेको बताएर अमेरिकी हस्तक्षेपको अन्त्य जनप्रतिरोध नै हो भन्ने कुराको पुष्टि गरेका छन् ।

बन्दुकको नोकमा गराइएको सो चुनावबाट अमेरिकी कठपुतलीले जित्नु अस्वाभाविक थिएन ।

भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजले ल्याटिन अमेरिकीहरूका लागि होन्डुरसका राष्ट्रपति अझै पनि म्यानुअल जेलाया हुन् भनेका छन् । यसका साथै इक्वेडरका राष्ट्रपति राफेल कोरिया र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डि सिल्भाले पनि यसअघि नै चाभेजको जस्तै विचार सार्वजनिक गरेका थिए ।

निर्वाचित राष्ट्रपति लोबो होन्डुरस नेसनल पार्टीका उम्मेदवार हुन् । स्थानीय समाचारपत्रले अक्टोबरमा गरेको सर्वेक्षणअनुसार उनले ३७ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको थियो । तर निर्वाचनका दिन धेरैजसो जनताले वहिस्कार गरेपछि उनले ५५ दशमलव ९ प्रतिशत मत प्राप्त भएको घोषणा गरेका छन् ।

सन् १९४७ डिसेम्बर २२ मा होन्डुरसमा जन्मिएका लोवोले अमेरिकाको मियामीस्थित मियामी विश्वविद्यालयबाट व्यापार प्रशाषनमा स्नातकोत्तर गरेका थिए । अमेरिकामा नै अध्ययन गरेका कारण उनीप्रति ओबामा प्रशाषनको आशीर्वाद रहंदै आएको छ र उनले नै ल्याटिन अमेरिकामा अमेरिकी स्वार्थको रक्षा गर्न सक्छन् भन्ने विश्वास पनि अमेरिकालाई छ ।

अपदस्थ राष्ट्रपति जेलाया यतिबेला राजधानी टिगुसीगाल्पास्थित ब्राजिलियन राजदूतावासमा शरण लिएका छन् । उनले आफ्नै भूमिबाट अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्ने र देशमा नागरिक सर्वोच्चता स्थापित गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आफ्नो देशमा घुसिसकेको अमेरिकी साम्राज्यवादलाई लखेट्न होन्डुरसका जनताले ठूलै आन्दोलन गर्नु पर्नेछ जसको नेतृत्व गर्न जेलाया तयार भएर बसेका छन् ।

 
१ टिप्पणी

Posted by on डिसेम्बर 4, 2009 in Analysis, GUEST

 

One response to “नागरिक सर्वोच्चता नहुंदा होन्डुरसमा अमेरिकी हस्तक्षेप

  1. Venilla

    डिसेम्बर 4, 2009 at 2:37 बिहान

    Nepal ma pani Indian Hastachhep Chha ni !

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: