RSS

दाङमा पशुपालन : कृषि क्रान्ति अभियान

11 Dec

– अमृत खरेल / दाङ

‘मिलेर यही काम गरे, दुई/चार हजार कमाउन किन जानुपर्थ्यो दुबई र कतार ? दाङ तुलसीपुर नगरपालिका-५ का जयलक्ष्मी सहकारी डेरी उद्योगका अध्यक्ष घनश्याम ढकालले त्यसै यसो भनेका होइनन् ।

सांच्चै दाङका मिहिनेती जनताले सामूहिक रूपमा उन्नत पशुपालन गरेर थोरै समयमै सामुहिक लगानीबाट गाउंमा बसेरपनि राम्रै आयआर्जन गर्न सकिन्छ भन्ने साबित गरिदिएका छन् ।

दङाली स्थानीय बासिन्दालाई पशुपालन र दुग्ध उत्पादनमा हौस्याएको छ, सामुदायिक पशु विकास आयोजना (सीएलडीपी) ले ।

पशु पालनका लागि होस् कि दूध उत्पादनका लागि होस् । अनि मासु पसल राख्न नै किन नहोस्, दाङका जनताको सूत्र बनेको छ, सहकारिता र सामूहिक काम । अनि उनीहरूलाई प्राविधिक ज्ञानदेखि अनुदान सहयोगसम्म जुटाइदिएको छ सीएलडीपीले ।

हुन त विभिन्न जिल्लामा सञ्चालित विकासे आयोजनाले योजना रहेसम्म मात्रै जनतालाई लाभ दिने गरेका छन्, तर सीएलडीपीले दाङका जनतालाई उद्यमशिलताको विकास गरिदिएर पछि सम्मका लागि आयआर्जनको उपाय सिकाइदिएको छ । विशेषगरी जनताको प्रत्यक्ष सहभागिता र साझेदारीमा पशुजन्य उत्पादनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको सीएलडीपीको कार्यक्रमबाट दाङमा हाल प्रत्यक्ष अप्रत्यक्ष रूपमा दुई हजारभन्दा बढी स्थानीय बासिन्दाले रोजगारी पाएका छन् ।

 

पशु वधस्थलदेखि दूध चिस्यान केन्द्रसम्म सहयोग

 

सामुदायिक पशु विकास आयोजनाको प्राविधिक र आर्थिक सहयोगमा दाङमा हालसम्म नौवटा पशुजन्य कार्यक्रम सञ्चालन भइसकेको छ । तुलसीपुर मासु व्यवसायी संघलाई सहयोग गरी सीएलडीपीले रांगो र खसी वधस्थलमा सञ्चालनमा ल्याएको होइन कि मासु पसल सुधार कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने मासु पसललाई सुधार गर्ने कार्यक्रम घोराहीमा पनि सञ्चालन गरिएको छ । यस्तै तुलसीपुरमा व्यवस्थित पशुपक्षी हाटस्थल सञ्चालन गर्न पनि सीएलडीपीले सघाएको छ ।

त्यतिमात्र नभई गाईपालन र दूध उत्पादनका लागि पनि जिल्ला पशु सेवा कार्यालय दाङमार्फत सीएलडीपीले तुलसीपुर, बिजौरी र घोराहीमा तीनवटा डेरी सञ्चालनमा सहयोग गरेको छ ।

यस वर्षदेखि बंगुर र गाईपालनलगायतका अन्य केही सहकारीलाई पनि सीएलडीपीले सहयोग गर्नेगरी भइरहेको जिल्ला पशु सेवा कार्यालय दाङका कार्यालय प्रमुख उत्तमबहादुर थापाले बताए ।

 

मासु पसल तथा वधस्थल सुधार कार्यक्रम

 

‘पहिले-पहिले छाडा तरिकाले भुइंमै खसी, बोका र रांगा काटिन्थ्यो, वर्षतमा हिलो भएर घिनलाग्दो हुन्थ्यो अनि कहां धेरै मान्छे मासु किन्न आउंथे र ?’

मासु व्यवसायी संघ तुलसीपुरका उपाध्यक्ष जंगबहादुर खड्काले विगतका दिन यसरी बताइरहादा अहिले भने तुलसीपुरका मासुपसलमा ग्राहकको भीड देखिन्थ्यो ।

२०५७ सालदेखि अव्यवस्थित रूपमा सुरु गरिएको तुलसीपुरका मासु पसलमा अहिले सफा टायल लगाइएको छ भने निकासको उचित व्यवस्थाले गर्दा मासु पसल सफा देखिन्छन् ।

तुलसीनगर नगरपालिकाले छुट्टयाइदिएको जमिनमा एकैठाउं खसी, बोका, बंगुर, कुखुरा र रांगाको मासु बेच्ने ४० वटा मासु पसल व्यवस्थित रूपले सञ्चालन गर्दै आएका मासु व्यवसायीलाई सीएलडीपीले जम्मा नौ लाख ५० हजार रुपैयां बराबरको प्राविधिक, आर्थिक सहयोग गरेको उपाध्यक्ष खड्काले बताए ।

खसी वधस्थलका लागि दुई लाख, मासु पसल सुधारका लागि दुई लाख ५० हजार, पशु हाटबजारका लागि दुई लाख ५० हजार, रांगा वधस्थलका लागि दुई लाख ५० हजार रुपैयां सीएलडीपीबाट सहयोग भएको हो ।

दैनिक दुई क्विन्टल कुखुरा, २० वटा खसी, बाख्रा, सातवटा रांगा र पांचवटासम्म बंगुर बिक्री हुने गरेको तुलसीपुरका मासु पसलमा मात्रै तीन सय ५० जनाभन्दा बढीले रोजगारी पाएको तुलसीपुर कुखुरा व्यवसायी संघका सदस्य शालिकराम भण्डारीले बताए ।

मासु पसलका लागि अब सामूहिक रूपमा पैसा उठाएर डिप फ्रिजको व्यवस्था गर्ने तयारी भइरहेको पनि भण्डारीले बताए ।

हिन्दू र मुसलमानका लागि छुट्टाछुट्टै वधस्थलको व्यवस्था गरिएको रांगाको मासु बिक्री गर्दै आएकी बलसरा विश्वकर्माले जानकारी दिइन् । अझै पनि मासु पसलका लागि पर्याप्त पानीको व्यवस्था गर्ने आफूहरूले कोसिस गरिरहेको भन्दै विश्वकर्माले पसल क्षेत्रभित्रै ट्यांकी बनाउन लागिएको बताइन् ।

यसैगरी, तुलसीपुर बजारमै पशु हाटबजार सञ्चालनका लागि हाल निर्माणकार्य जारी छ । वर्षतमा हाटबजारस्थलमा बाढी पस्ने गरेकाले त्यसको निकासको व्यवस्था मिलाएपछि बजार सञ्चालनमा ल्याइने जिल्ला पशु सेवा कार्यालयका निमबहादुर पुनले जानकारी दिए ।

सीएलडीपीकै सहयोगमा घोराही नगरपालिका-१० मा पनि मासु पसललाई व्यवस्थित बनाइएको छ ।

२०३५ सालदेखि स्थानीय मुसलमान समुदायका व्यक्तिले सुरु गरेको मासु पसलको अहिले रूप फेरिएको छ ।

‘बाबुबाजेको पालदेखि यस ठाउंमा हामीले मासु पसल राखे पनि पहिले-पहिले फोहोरले गर्दा धेरै मान्छे आउंदैन थिए, अहिले त सातवटा पसलमा दिनको २५ वटासम्म खसी, बोकाको मासु बिक्री हुन्छ,’ घोराहीका मासु पसले असलम कुरैसीले बताए ।

अर्का व्यवसायी युनुस कुरैसीले ती पसलमा अब सिसा र जाली हाल्ने तयारी गरिएको बताए । घोराहीमा मासु पसल सुधारका लागि जिल्ला पशु सेवा कार्यालयमार्फत सीएलडीपीले एक लाख रुपैयां सहयोग गरेको छ ।

 

सामुहिक दुग्ध उत्पादन

 

दाङका गाई-भैंसीपालक कृषकलाई अहिले दूध कहां बेच्ने भन्ने चिन्ता छैन । किनभने गाई-भैंसीपालक कृषककै पहलमा सञ्चालित सहकारीले कृषकबाट जम्मा गरेको दूध दुग्ध विकास संस्थानसंग संयोजन गरी मध्यपश्चिम दुग्ध वितरण आयोजनामार्फत कोहलपुर पठाउने गरेका छन् ।

गाई-भैंसीपालक ४५ जना कृषकको पहलमा स्थापित जयलक्ष्मी सहकारी डेरी उद्योग तुलसीपुरले मात्रै अहिले दैनिक पांच सय लिटरसम्म दूध संकलन गर्ने गरेको छ ।

स्थानीय धम्के, पवननगर, बाघमारे, गोलटाकुरीबाट कृषकले सहकारीमा दूध जम्मा गर्ने गरेको अध्यक्ष घनश्याम ढकालले बताए ।

पांचजना कर्मचारी प्रत्यक्ष रूपमा खट्ने गरेको सो सहकारीमा दक्ष कालिगढ पाउन कठिन भइरहेको बताउंदै ढकालले चीज उत्पादन गर्न नसकिएको बताए ।

प्याकेटको दूध भन्नेबित्तिकै पानी मिसाइएको हुन्छ भन्ने धारणाले गर्दा केही समयसम्म काम गर्न अप्ठ्यारो भए तापनि सीएलडीपीले प्राविधिक र दुई लाख रुपैयां आर्थिक सहयोग गरेपछि चिलिङ भ्याट (दूध चिस्याउने यन्त्र) जडान गरिएपछि अहिले कोहलपुर र लमहीसम्म दूध पठाउन सजिलो भएको ढकालको अनुभव छ ।

यस्तै, सीएलडीपीकै सहयोगमा सञ्चालित घोराही-११ को लीला डेरी उद्योगले पनि अहिले आफ्नै चिलिङ भ्याट जडान गरेको छ । सो उद्योगलाई पनि सीएलडीपीअन्तर्गत दुई लाख रुपैयां अनुदान दिइएको छ ।

दुग्धजन्य उत्पादन प्रवर्द्धनका लागि सो उद्योगले दूधबाटै बनेका परिकार बिक्री वितरण गर्ने गरी डेरी रेष्टुरेन्टसमेत सञ्चालन गरेको छ । दैनिक ५० देखि सयजनासम्म ग्राहक सो रेष्टुरेन्टमा आउने गरेको उद्योगका सञ्चालक लीलाधर शर्माले बताए ।

 

सामूहिक गाई फार्म

 

स्थानीय कृषकको अग्रसरता दाङमा सामूहिक गाईपालन पनि फस्टाएको छ ।

एक/दुई वर्षभित्रै गाईको संख्या एक सय पुर्‍याएर स्रोतकेन्द्रका रूपमा विकास हुन लागेको लक्ष्मी अमृत सामूहिक गाई फार्म गोग्लीमा अहिले होलस्टिक र जर्सी जातका गरी जम्मा ३८ वटा गाई पालिएको छ ।

डेढ वर्षअघिदेखि सुरु गरिएको सो फार्मबाट हाल दैनिक एक सय लिटर उत्पादन हुने गरेको  फार्मका अध्यक्ष मोहन घिमिरे बताए ।

सहकारीमार्फत भैंसेघुरमा २० बिगाहा जमिनमा घांस खेती गर्ने तयारी गरिरहेको सो फार्मले हाल जिल्ला पशु सेवा कार्यालयबाट प्राविधिक सहयोग पाइरहेको छ ।

उता, नारायणपुर गाविस ढिपुर-२ मा चार बिगाहा जमिनमा ३१ जना कृषकले गाईपालन गरी दैनिक एक सय १० लिटर दूध उत्पादन गर्ने गरेका छन् ।

नमुना कृषि सहकारी संस्थाको नाममा सञ्चालित सो सहकारीका लागि जिल्ला पशु सेवा कार्यालय घोराहीमार्फत १२ लाख ४२ हजार रुपैयां अनुदान सहयोग दिइएको छ ।

सीएलडीपी कार्यक्रमले यसवर्ष गोरक्ष डेरी घोराही,  नमुना कृषि सहकारी नारायणपुर, लक्ष्मीअमृत गाई फार्म गोग्ली तथा जनज्योति पशुपक्षीपालक कृषक सहकारी लगायतका पशुपालन सहकारीलाई सहयोग गर्ने तयारी गरेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख उत्तमबहादुर थापाले जानकारी दिए ।

 
१ टिप्पणी

Posted by on डिसेम्बर 11, 2009 in NEWS

 

One response to “दाङमा पशुपालन : कृषि क्रान्ति अभियान

  1. laxmiacharya

    डिसेम्बर 12, 2009 at 8:32 बिहान

    DANG ma matra haina yesto kam anta pani garna paryo taba matra KRISHI PRADHAN DESH NEPAL BHANNA PANI SUHAUCHHA ANI DESH KA MUKHYA ARTHIK SHROT KISAN HARU KO UNNATI PANI HUNCHHA. THANKS FOR THE NEWS.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: