RSS

नयांदिल्लीबाट देखिएको सत्य

24 Dec

―देवप्रकाश त्रिपाठी

नेपाली राजनीतिमा नयांदिल्लीको चासोप्रति नेपालीहरूमा निरपेक्ष दृष्टिकोण बन्न सकेको छैन। भारतको समर्थन, साथ र सहयोग पाउन सबै चाहने, आफूलाई प्राप्त हुंदा जायज र स्वागतयोग्य पनि ठान्ने, तर भारतीय दृष्टिकोण आफ्नो प्रतिकूल हुनेबित्तिकै हस्तक्षेप देख्ने सोच हामीले पाल्दै आएका छौं।

वि.सं. २००७ सालमा दिल्लीमा भएको त्रिपक्षीय (राजा, राणा र भारत) सम्झौताको विरोध गर्दै क्रान्ति–यात्रामा होमिएका वेला नेपालका कम्युनिष्टहरूले भविष्यमा आफूले पनि दिल्लीमै अर्को त्रिपक्षीय सम्झौतामा सहभागिता जनाउनुपर्ने हुनसक्छ भनी सायदै सोचेका हुंदा हुन्। त्यसबेला सबैलाई चकित पार्दै दिल्ली–सम्झौतामा गएका माओवादीले आफ्नो सोच, शैली, सिद्धान्त र गन्तव्य यथावत् राखेर अहिले पनि सबैलाई चकित पार्दै छन् यो बेग्लै तर यथार्थ पक्ष हो। तर, माओवादीको पछिल्ला क्रियाकलापहरूले सबैभन्दा चकितचाहिं भारतलाई नै पारेको महसुस दिल्लीमा गर्न सकिन्छ। नेपालका माओवादीलाई संवाद र सहमतिका माध्यमबाट शान्ति–प्रक्रियामा सामेल गराउंदा नेपालमा “लोकतन्त्र” एवं शान्ति बहाल हुने तथा भारतका माओवादी पनि हिंसा त्यागेर सहमतिको मार्गमा आउन प्रेरित हुनसक्ने आशा भारतले गर्नुलाई अस्वाभाविक मान्न सकिन्न। नेपाली माओवादीलाई सिंहदरबारसम्मको यात्रा गराउन भारतका तत्कालिक सत्तारुढ वामपन्थी नेताहरूले गरेको कसरत हेर्दा लाग्थ्यो– तिनलाई आफ्नोभन्दा नेपालकै माओवादीहरूको भविष्यलाई लिएर चिन्ता बढी छ। आज भारतमा वामपन्थीहरू सत्तामा छैनन् र त्यहां माओवादीको हिंसात्मक क्रियाकलाप भने चार वर्षयता निकै बढेको छ। नेपालका माओवादीमा पनि भारतीय चाहना मुताविकको लोकतान्त्रिक रूपान्तरणको दार्शनिक एवं व्यवहारगत सम्भावना देखिएको छैन वरू स्वयं भारतको शान्ति र सुरक्षालाई समेत नेपाली माओवादीहरू गम्भीर चुनौती बन्न सक्ने ठान्न थालिएको छ।    

“आर्थिक प्रगति”को सगरमाथा टेक्दै गरेको भारतका सामु त्यस्ता केही जटिलताहरू छन् जसलाई सम्बोधन नगरी समृद्धिको शिखर चुम्न र प्राप्त उपलब्धिहरूको संरक्षण गर्न मुस्किल पर्ने देखिन्छ। विश्व शक्तिराष्ट्र बन्न अग्रसर भारतका निम्ति चिन्ताका केही विषय जुन प्रखर रूपमा जीवित छन्, तीमध्ये “प्रजातान्त्रिक” पद्धतिलाई सफल र परिणाममुखी बनाउनु पनि हो। भारत बहुदलीय प्रणाली भएको विश्वकै सबैभन्दा ठूलो मुलुक हो। ठूलो जनसंख्या भएको मुलुकमा यस्तो पद्धतिको अभ्यास र विकास गर्नु कठिन हुन्छ भन्नेहरूलाई जवाफ दिनका लागि भारत प्रयासरत छ र त्यस्तो दृष्टान्त बन्नका निम्ति कम्तीमा सवा अर्ब मानिसलाई भारतले सन्तुष्ट राख्नुपर्ने हुन्छ, जुन सानो चुनौती होइन। उदार अर्थतन्त्रका पृष्ठपोषक चिनियांहरू चीनमा उदार प्रजातन्त्रको कल्पना गर्दैनन् र नगर्नुको कारण उनीहरू आफ्नो ठूलो जनसंख्यालाई देखाउने गर्दछन्। तर, चिनियांहरूले हिम्मत गर्न नसकेको त्यही अभ्यास भारत ६ दशकदेखि निरन्तर गर्दै छ । यसक्रममा भारतले अनेकौं उतार–चढावहरूको सामना गर्नुपरेको छ, र एउटा प्रमुख चुनौतीका रूपमा यो समस्या संधै रहिरहने स्थिति छ।   

छिमेकी राष्ट्रहरूको गरिबी र त्यहांको अस्थिरता भारतका निम्ति फाइदाजनक भएपनि कहिलेकाहीं ठूलो चुनौती भइदिएको छ । चीनबाहेक वरिपरिका आठ छिमेकी मुलुकहरूमध्ये म्यानमारमा लामो समयदेखि लोकतन्त्र स्थापनाको लडाइं चलिरहेको छ भने पाकिस्तान र नेपालमा विद्यमान राजनीतिक अस्थिरता एवं यी मुलुकका गरिबीले नै भारतका निम्ति पनि समस्या निम्त्याउन सक्ने आशंका वढ्दै गएको छ। अफगानिस्तानको आन्तरिक स्थिति र बंगलादेश लगायतका मुलुकमा व्याप्त गरिबीप्रति अव भारत मौन र खुसी रहन मिल्ने अवस्था रहन्न। छिमेकमा अशान्ति, असुरक्षा, बेरोजगारी, अराजकता र गरिबी व्याप्त भयो भने एउटा मुलुकले जतिसुकै प्रगति या समृद्धि हासिल गरे पनि त्यसको उपभोगमा एकप्रकारको संकट या तनावको स्थिति बनिरहन्छ। समृद्ध संयुक्त राज्य अमेरिकाले उत्तरतर्फको (क्यानडा) सिमानाबाट खासै समस्या झेल्नु नपरे पनि दक्षिणतर्फ (मेक्सिको) बाट नानाभांतीका समस्याहरूलाई झेल्नु परेको छ यथार्थलाई एउटा दृष्टान्तका रूपमा बुझ्ने हो भने “समृद्धि”तर्फ लम्कंदै गरेको भारतका निम्ति छिमेकको अवस्था पनि एउटा चुनौतीको रूपमा रहेको छ भन्नुपर्ने हुन्छ।   

भारतको अर्को चुनौती देशमा जातीय, क्षेत्रीय तथा प्रान्तीय सद्भाव, सन्तुलन र सहिष्णुता कायम राख्नु हो। विविध भाषा, धर्म, भूगोल र जातिगत उपस्थिति रहेको भारतले विगतमा ठूला–ठूला पृथकतावादी आन्दोलन एवं विष्मयकारी धार्मिक र जातीय दंगाहरूको सामना गरिसकेको छ भने अहिले पनि कुनै न कुनै रूप र आकारका झमेलाहरूसंग भारत जुध्दै छ। आन्तरिक विविधतालाई सन्तुलनमा राख्न नसकेको अवस्थामा भारतको चुलिंदो अर्थतन्त्रले धेरै ठूलो धक्काको सामना गर्नुपर्ने हुन्छ, त्यसैले आन्तरिक सहिष्णुता र सन्तुलन कायम राखिरहनु भारतको एउटा चुनौतीका रूपमा रहिरहने देखिन्छ।   

भारतले सामना गर्नु परिरहेको र गर्नुपर्ने अर्को चुनौती आतंकवाद हो। भारत पटक–पटक मुस्लिम आतंकवादीहरूको घातक प्रहारको सिकार हुंदै आएको छ। आतंककारीहरूले संसददेखी पांचतारे होटल र सर्वसाधारणको आवागमन व्यापक हुने स्थानहरूलाई लक्षित गरी अनेकौंपटक सांघातिक हमला गरिसकेका छन्। भारत समृद्धितर्फ अरू बढ्दै जांदा आतंकवादी आक्रमणको सम्भावना पनि अझै बढ्न सक्ने देखिन्छ। कस्मिरदेखि आसामसम्म आतंकवादको स्थायी सामना गर्नु परिरहेको भारतका लागी बेलाबखत हुने यस्ता हमला पनि देशकै मर्ममा प्रहार गर्ने स्तरको हुने गरेको छ। भविष्यमा आतंकवादीहरूबाट कसरी सुरक्षित राख्ने भन्ने विषयमा भारत सदैव सचेत र संवेदनशील हुनुपर्ने अवस्था छ।   

ठीक यतिबेला भारत माओवादी आन्दोलनको चपेटामा पनि पर्दै गइरहेको छ। नेपालमा २०५५/०५६ सालतिर माओवादीको जे–जस्तो शैली र हैसियत देखिन्थ्यो भारतको दुई सयभन्दा बढी जिल्लामा माओवादीले ठीक त्यही स्तरको क्रियाकलाप गर्दै छन्। नेपालमा माओवादीले उच्च सफलता हासिल गरेको घटना–सन्दर्भले भारतीय माओवादीहरूमा पनि ऊर्जा पैदा गराएको देखिन्छ। भारतका माओवादीलाई प्रेरित गर्ने या उनीहरूलाइ उत्साहित गर्ने राजनीतिक परिस्थिती र संस्कार नेपालको तुलनामा भारतमा कम रहेको हुंदा त्यहांका माओवादीले नेपालकाले झैं छिटो सफलता प्राप्त गर्न त मुस्किल छ। तर, उनीहरूले पटक पटक हैरान तुल्याउनसम्म सक्ने सम्भावनालाई भने इन्कार गर्न सकिंदैन। विगतमा नेपालमा माओवादी ‘मुभमेन्ट’ लाई ‘अन्डरमाइन्ड’ गरेका कारणले पनि तिनले छिटो फस्टाउने मौका पाएका थिए र धेरैथरी शक्तिकेन्द्र र व्यक्तिलाई समेत उनीहरूले उपयोग गर्न सफल भएका थिए भन्ने यथार्थलाई समयमै बुझ्न सक्यो भने भारतमा माओवादी समस्या लामो समयसम्म रहन सम्भव छैन।

भारतीय चाहना अनुसार नेपालका माओवादीहरूमा “लोकतान्त्रिक रूपान्तरण” हुनसक्यो भने त्यसको दबाब भारतका माओवादीमा पनि पर्न सम्भव छ। नेपाली माओवादीलाई बाह्रबुंदे सम्झौतामार्फत मूल राजनीतिक प्रवाहमा सामेल गराउन भारतले सकारात्मक सहयोग पुर्याउनुको कारण पनि यही नै थियो भन्न सकिन्छ। तर, भारतको अपेक्षाविपरीत माओवादीको व्यवहार देखिएको छ। उनीहरू दार्शनिक, वैचारिक, सैद्धान्तिक र व्यावहारिक कुनै पनि रूपमा परिवर्तन नहुन कटिबद्ध छन्। बरु चिनको समेत साथ लिएर नेपालदेखि भारतसम्म माओवादी सञ्जाल निर्माण गर्न उनीहरू अग्रसर देखिन्छन्। भारतले नेपालमा लोकतन्त्रसहितको शान्ति वहाल गर्न या भारतका माओवादीलाई समेत संवाद र सहमतिको मार्गमा लाग्ने उत्प्रेरणा सिर्जना गर्न, जुनसुकै कारणले बाह्रबुंदे सम्झौता गराएको भए पनि नयांदिल्लीले अहिले त्यसरी माओवादीलाई ल्याउनु ठीक थियो भनेर गौरव गर्न खोजिरहेको छैन। बरु त्यसबेलाको गल्तीलाई कसरी सच्याउन सकिन्छ भन्ने चिन्तामा भारत रहेको महसुस दिल्ली पुग्नेहरू जो–कोहीले गर्न सक्दछ। नेपालमा अशान्ति, असुरक्षा, अराजकता र चिनियां चासो ह्वात्तै बढ्नुको मूल कारण माओवादी नै हो भन्नेमा नयांदिल्ली स्पष्ट रहेको बुझ्न सकिन्छ। नेपाली माओवादीले अव चाल्ने कुनै नयां चालबाजीले भारतलाई उपयोग गर्न सकेमा दक्षिण एसियामा भारतीय दादागीरीको अध्याय समाप्त पनि हुन सक्नेछ। तर, भारतले चालेको नयां चालवाजी विरूद्द नेपाली माओवादीहरूका निम्ति आफू सम्पूर्ण रूपले व्यवहारमा समेत बदलिने या लड्न–मर्न तयार हुनुको विकल्प देखिंदैन । त्यसैगरि नेपालका लोकतन्त्र पक्षधर शक्तिहरूका निम्ति पनि माओवादीसमक्ष आत्मसमर्पण गरेर उनीहरूको व्यवस्थालाई स्वीकार गर्नु या लड्न तयार रहनुको विकल्प छैन। तसर्थ, एउटा भीषण तर निर्णायक युद्ध नजिकै छ, दिल्लीबाट देखिने सत्य पनि यही नै हो।

 
3 टिप्पणीहरु

Posted by on डिसेम्बर 24, 2009 in Analysis, BLOG

 

3 responses to “नयांदिल्लीबाट देखिएको सत्य

  1. juni

    डिसेम्बर 24, 2009 at 2:39 बिहान

    haina yo DevPrakash pani maobadi bhayo ki k ho ?

     
  2. anita

    डिसेम्बर 24, 2009 at 7:57 बेलुका

    Yesto lekh lekhdaima maobadi hunchha ra?

     
  3. Nitu Bhutani

    डिसेम्बर 25, 2009 at 2:28 बिहान

    aba chahi Nepal ma kehi hola jasto chha.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: