RSS

राजनीतिक नेतृत्वको मनोरोगको उपचार अत्यावश्यक

18 Jan

―प्रा.डा. गोपाल शिवाकोटी

नेपालका राजनीतिक दल तथा यसका नेतृत्व वर्गले गर्ने गरेको आचरण प्रवृत्ति तथा क्रियाकलापले गर्दा उनीहरुप्रतिको जनतामा रहेको विश्वास गुमेको छ। उनीहरुले अपनाउने पिपलपाते प्रवृत्तिले गर्दा जनतालाई निराश बनाएको छ। विगत केही समयदेखिका नेतृत्व बर्गका क्रियाकलापले गर्दा उनीहरुको मनस्थिति र व्यवहारमा देखिएका अन्यौलपूर्ण अवस्थाले उनीहरुको मानसिक सोच र दृष्टिकोण के हो भन्ने बारेमा नै बुझ्न नसकिने अवस्था रहेको छ।

पछिल्लो अवस्थामा एकीकृत नेकपा माओवादीले शान्ति प्रक्रिया र संविधान लेखनको कार्यमा आउन सक्ने व्यवधानलाई निकास दिनका लागि गठन गरिएको कार्यदल समक्ष राष्ट्रपतिलाई देशबासीको नाममा सम्बोधन गराएर समस्यालाई निकास दिने भनि राखिएको प्रस्तावलाई नेकपा एमाले र कांग्रेसका नेताहरुले यो प्रस्ताव समेत स्वीकार गर्न नसकिने भनि जुन तर्कहरु अगाडि सारेका छन्, यसबाट नेतृत्वको मानसिक स्थितिको बारेमा नै प्रश्न उठेका हुन्। नेपाली कांग्रेस र एमालेका नेताहरुले राष्ट्रपतिलाई दलहरुले समस्या सम्बोधन गर्नाका लागि आग्रह गर्न नहुने यसबाट राष्ट्रपतिको गरिमामाथि समेत आघात पर्ने भएकोले यसो गर्न अस्वीकार गरेर गतिरोधलाई अरु बढाउन चाहेको देखिंदा नेतृत्व बर्गको क्षमता तथा मानसिक रुग्णताको बारेमा शंका  उत्पन्न भएको देखिन्छ।  

मुलुक लामो समयदेखि अबरुद्ध छ र अबको केही महिनाभित्रैमा संविधान निर्माण नहुने र शान्ति प्रक्रिया टुंगोमा नपुग्ने हो भने यसबाट ठूलो दुर्घटना हुन सक्ने, संविधानहिनताको स्थिति उत्पन्न हुन सक्ने र त्यसपछि सरकारको बैधता र संविधानको बैधतामा समेत प्रश्न उठ्ने हुंदा शून्यताको स्थिति आउंछ र यसले गृहयुद्धको सम्भावना बढ्नेछ र त्यसपछि हतियारको सर्वोच्चता भई सेनाको हातमा मुलुक जाने भएकोले राजतन्त्र पुनर्स्थापना समेत हुनसक्ने सम्भावनाको कुराहरु उठाउने नेतृत्व बर्गबाट राष्ट्रपतिलाई आफूले गरेको कामले मुलुकमा अबरोध खडा भएमा यसप्रति चासो व्यक्त गरी राष्ट्रलाई सम्बोधन दिनबाट रोक्नु पर्ने वा आग्रह गर्न नसकिने भनि तर्क प्रस्तुत गर्नुलाई कुतर्क वा अबुद्धिबादी तर्कको रुपमा मात्र हेर्नु पर्ने भएको छ। सामान्य रुपमा जनताको पहिलो गणतन्त्रका राष्ट्रपतिलाई दल वा जनताले यसो गर्नुपर्यो भनि आग्रहसमेत गर्न नहुने भनि ईश्वरीय अवतारको रुपमा राष्ट्रपतिलाई राख्न खोज्नु वा राजा बनाउन खोज्नु जस्ता कार्यहरुलाई सम्पुष्टि गर्ने जस्ता तर्क दिंदा लाज नमान्ने नेतृत्व वर्गको मानसिकताको बारेमा शंका उत्पन्न हुन जान्छ। स्वयम् राष्ट्रपतिले दलहरुले कुनै कुरामा सहमति गरी आफूलाई अनुरोध गरेमा सो अनुसार आफू कार्य गर्न तयार छु भनि अभिव्यक्ति दिइरहेको अवस्थामा आफूलाई लोकतन्त्रवादी, तथा साम्यवादी दलका नेताका रुपमा परिचय दिनेहरुले राष्ट्रपतिलाई अनुरोध गर्दा उहांको प्रतिष्ठामा आघात पर्छ भनि दिइने अभिव्यक्तिलाई कसरी बुझ्ने हो प्रश्न खडा भएको छ। प्रधानसेनापतिको प्रकरणमा रातारात १८ दलले राष्ट्रपतिलाई प्रधानसेनापतिलाई दिइएको अवकास पत्रलाई रोक्नका लागि अनुरोध गर्न पुगेको र रोकाएको सबैलाई थाहै छ। तर त्यही प्रकरणबाट उत्पन्न भएको असहज अवस्थाले मुलुकलाई गम्भीर दुर्घटनातर्फ लैजाने स्थितिमा पुग्दासमेत अर्को चोटी राष्ट्रपतिसंग अनुरोध गर्न नहुने र यसबारेमा राष्ट्रपतिलाई स्वविवेकमा छोडिनु पर्ने जस्ता अभिव्यक्तिहरु आएका छन्। यसबाट राष्ट्रपतिलाई मर्यादा दिन खोजिएको हो, विवाद मुक्त बनाउन खोजिएको हो, वा अर्कोपटक विवादमा लान खोजिएको हो, बुझ्न कठीन भएको छ।

अहिले नेपाली कांग्रेसका नेता तथा प्रवक्ता अर्जुन नरसिंह केसीले दिनु भएको सार्वजनिक अभिव्यक्तिमा यसो गर्नुस् भनि आग्रह गर्न नहुने र यदि राष्ट्रपतिले आफ्नो स्वविवेकले काम गरेमा कुनै आपत्ति नहुने भनि दुई वटा शर्तहरु अघि सारेको देखिंदा राष्ट्रपतिलाई अर्को विवादमा ल्याउन स्वयं नेपाली कांग्रेस लागिपरेको कुरा पुष्टि हुन जान्छ। नेपालको राष्ट्रपति संक्रमणकालीन राष्ट्रपति हो। यसअघि राष्ट्रपतिले नै १८ दलको अनुरोधमा प्रधानसेनापतिलाई थमौती गर्ने जस्ता काम गरिसकेका छन्। यसबारेमा सर्वोच्चत अदालतमा समेत प्रश्न उठेको छ। राष्ट्रपतिले आफूले गरेको कार्य संवैधानिक नभएर राजनीतिक र तत्कालिन आवश्यकताको रुपमा गरिएको भनि प्रष्टिकरण दिएका छन्। यसअर्थमा हिजो राष्ट्रपतिलाई आग्रह  गर्दै रातको अंध्यारामा जान सक्ने नेतृत्व बर्ग अहिले दिउंसो र खुला रुपमा राष्ट्रपतिलाई यसो गर भन्न नसक्ने भनि बहाना बनाउनु कतिसम्म तर्कसंगत छ, आफैमा प्रष्ट छ। हालका अवस्थामा राष्ट्रपति आफैले विभिन्न समुहहरुको ज्ञापन पत्रहरु बुझ्ने, सरकारलाई निर्देशन दिने र विभिन्न स्थानमा गई भाषण गर्दै अर्ति उपदेश दिन थालेका छन्। यस्तो अवस्थामा राष्ट्रपतिलाई दलहरुले यसो गर वा नगर भन्ने अवस्था नरहेको अवस्था देखाउनु कि त मानसिकतामै खोट छ, कि त उनीहरुको मानसिकताले नै उनीहरुले राष्ट्रपतिलाई नै राजाकोरुपमै फेर्न लालायित रहेको देखिएको छ।  
हुनत, अर्जुन नरसिंह केसी पञ्चायतकालका मन्त्री हुन् र २०३६ सालमा पञ्चायतलाई जिताउन युवा पञ्च वनि कुदेकै हुन्। उनको रंग फेराईमा खासै आश्चर्य मान्नु पर्ने अवस्था छैन। तर कृष्णप्रसाद सिटौला वा भरतमोहन अधिकारीहरुमा समेत यस्तै मानसिकता देखा पर्नु भनेको बुझ्न नसकिने विषय छ।

अर्को कुरा, राष्ट्रपतिले स्वविवेकले कार्य गर्नमा आपत्ति नहुने भनि दिएको अभिव्यक्ति स्वयममा आपत्तिजनक छ। अन्तरिम संविधानले राष्ट्रपतिलाई कुनै पनि स्वविवेकीय अधिकार वा अन्य कुनै पनि अधिकार दिइएको छैन। उनले गर्ने काम भनेको कार्यकारीले दिइएका सल्लाह अनुसार आलंकारिक राष्ट्रपतिको रुपमा मात्र पुच्छ्रे दस्तखत गर्ने हो। यस्तो अवस्थामा राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्न सिफारिस गर्नुको अर्थ राष्ट्रपतिलाई सक्रिय अधिकार पुनः प्रयोग गर्न उक्साउने दुष्चिन्तन भन्दा बढि केहि हुन सक्दैन। हिजो जसको सिफारिसमा राष्ट्रपतिले गल्ती गरे, उनीहरुकै अनुरोधमा सो गल्ती सच्याएमा हिजोको दाग समेत मेटिने अवस्थामा अहिले झनै उल्टो पारेर प्रस्तुत गर्ने अवस्था रहेको छ।

नागरिक सर्वोच्चता र संविधानलाई ठीक बाटोमा ल्याउनको लागि राष्ट्रपतिको कदम चाल्ने र सेनालाई नागरिक सरकारको अन्तर्गत ल्याउनको लागि छ महिनादेखि आन्दोलन माओवादीले आफ्नो हिजोका भनाईहरु छोड्दै गएकोले पनि माओवादीको नेतृत्व बर्गको अडान बारेमा पनि स्वभाविक रुपमा प्रश्न उठेका छन्। हिजो संकल्प प्रस्ताव संसदमा प्रस्तुत गरी यसैले बहस पाउनु पर्दछ भनि छ महिनादेखि संसद अबरुद्ध गर्दै आएको थियो। यसैका लागि देश र विदेशमा समेत ठूलो आलोचना खेप्नु परेको अवस्था जगजाहेर छ। यसैलाई दृष्टिगत गरी सहमतिबाट साझा संकल्प प्रस्ताव ल्याएर वा संविधानमा संशोधन गरी राष्ट्रपतिको कार्यलाई व्यवस्थित र पछि दोहोरिन नसकिने गरी काम गर्ने प्रस्ताव राखेर वार्तामा गएको माओवादीले त्यो कुरालाई समेत छोडेर अब खाली राष्ट्रपतिको पछुताउलाई मात्र प्रस्तावको रुपमा लैजाने काम गरेको देखिन्छ। यसअघि कोइरालासंग भएका विभिन्न चरणका वार्तामा समस्या सुल्झाउनको लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्ने र मध्यमार्गको रुपमा राष्ट्रपतिको कदमको सैद्धान्तिक खण्डन गर्ने कुरामा तयार भएर वार्तामा बसेको अवस्थामा एकाएक राष्ट्रपतिको पछुतोलाई मात्र प्रस्ताव गर्नुले आफ्नो अडानबाट पछि हट्न गएको हुंदा हिजो माओवादीले उठाएका सैद्धान्तिक प्रश्नहरुमाथि नै यसले भविष्यमा प्रश्न खडा गर्नेछ भन्ने कुरा सहमतिका नाममा तिलान्जली दिन खोजेको अनुभव प्रायः धेरैलाई भएको हुनुपर्दछ।

यहांनेर के बिर्सियो भने माओवादी जतिसुकै लचक भएपनि वा आत्मसर्मपणको स्थिति भन्दा अघिल्लो अवस्थासम्म देशी र विदेशी शक्तिहरुले माओवादीले उठाएका कुराहरुलाई विश्वास गर्ने छैनन्। अहिलेका प्रतिगामीहरुको सम्पूर्ण शक्तिको लक्ष्य भनेको माओवादीलाई पनि आफूजस्तै बनाउनु हो। कतिपय कार्यले गर्दा माओवादी हिजो सेतो पखेटा लिएको चल्लाको जस्तै अवस्थामा थियो तर सहमतिका नाममा सत्तामा प्रवेश गरेपछि उसका प्वांखहरुमा दाग लागेका छन् र यदि अहिले पुनः सहमतिको नाममा यस्ताखालका कार्यहरु जारी राख्दै अघि बढ्ने हो भने ध्वांसो लागेको पाइपबाट छिर्दा जुन दुर्दशा सेतो पखेटा भएको चल्लाको हुन्छ, त्यही हालत माओवादीको पनि हुनेछ भन्नेतर्फ खासै ध्यान गएको देखिएको छैन। यस अवस्थामा एमाले र कांग्रेसका षडयन्त्रपूर्ण क्रियाकलापप्रति अझै सचेत हुन नसक्नुले माओवादीमा अग्रगमनतर्फको बाटोबाट बिचलन ल्याउने छ। अहिले अबरोध हटाएर संविधान निर्माण र शान्ति प्रक्रियालाई गति दिन खोजिएको मानसिकताले काम गरको हुन सक्छ तर अहिले गति भन्दा पनि दिशा आवश्यकता छ। ढिलै भएपनि, अबरोधपूर्ण भएपनि गति सही भएमा यसले लक्ष्यमा पुर्याउन सक्छ। तर गतिमात्र हुंदा यसमा विचलन आउंछ भन्ने कुरा एमालेको अहिलेको दुर्गतीबाट पाठ सिक्नु पर्ने हो, त्यसतर्फ खासै ध्यान गएको जस्तो लाग्दैन।

माओवादीको सदिच्छा अग्रगमन र परिवर्तन प्रति छ। तर अहिलेका सत्तारुढ दल तथा विदेशी शक्तिहरुको उद्देश्य ठीक त्यसको विपरित दुराशयपूर्ण छ भन्ने कुराहरु उनीहरुका भनाई र गराईबाट देखिएको छ। गिरिजाप्रसाद कोइराला सबैभन्दा ठूला र अफ्नो अडानमा रहने लोकतन्त्रवादी नेता हुन्। तर उनले नै माओवादीसंग गरेका सहमतिहरुलाई कार्यान्वयन गर्नु भन्दा यसैका नाममा माओवादीलाई ‘टाङ मुनि’बाट छिराउन खोज्ने जुन प्रपञ्च गरेका छन्, यसैबाट बुझ्नु पर्ने हो। अहिले आफूलाई बढो प्रगतिशील, कम्युनिष्ट नेता मान्ने झलनाथ खनालका झल्लु क्रियाकलापहरुले उनमा र खड्ग ओलीमा कुनै अन्तर छैन भन्ने कुरा देखा परेकोछ। झलनाथका डेढ हप्ताका क्रियाकलापहरुले उनीहरु सहयात्री हुन् खाली उनीहरुले अलग भएका बहानामात्रै पारेका हुन् भन्ने कुरा प्रष्ट भएको छ। पहिला केन्द्रीय समितिमा सत्ता त्याग समेत गर्न सक्ने भनि अभिव्यक्ति दिने र अर्को पक्षले माओवादीको दस्तावेज आयो भनि आलोजना गर्दा यही सरकारलाई कुनै पनि हालतमा टिकाउनको लागि प्रस्ताव गर्ने कुराले एमालेभित्रको मानकिसता समान छर्लंगभएको छ। खड्ग ओली मुलुकभर दौडेर माओवादीका विरुद्धमा गाली गर्ने, उत्तेजना भर्ने, तुकबन्दी गरी उत्तेजित पार्ने कार्यमा लागेको र झलनाथ खनालले सल्यानको खलंगामा गएर माओवादीविरुद्ध खुकुरी नचाएर जाईलाग्नको लागि दिइएका अभिव्यक्तिमा तात्विक अन्तर देखिदैन। ओलीको बोली र विद्यादेवीको गोलीको भाषा तथा झलनाथका जाई लाग्नका लागि दिइएको निर्देशन एकै सिक्काका अभिव्यक्तिका अन्तर मात्र हुन् भन्ने कुरा देखा परेका छन्। उनीहरु सबै सहमतिको कुरा गर्दछन्। तर व्यवहारमा सहमति भनेको उनीहरुको अगाडि आत्मसमर्पण गर्नु र संसदीय भासमा गई ‘भागशान्ति जय नेपाल’ को लूटमार मच्चाउनु भन्दा बढि होइन भन्ने देखिन्छ।

सुशिल कोइराला तथा देउवा प्रवृत्तिको अभिव्यक्तिलाई हेर्दा उनीहरु कम्युनिष्ट फोबियाले ग्रस्त छन्। यो कम्युनिष्ट विरोधी मेनियाबाट ग्रसित रुग्ण मनस्थितिले सबै कुरालाई माओवादीको सत्ता कब्जा गर्ने रणनीति मात्रै देख्दछ र जसरी फोबिया भएको मानिस पानी देखि डराउंछ, उसैगरि यी प्रवृत्ति डराएका छन्। अझ माओवादीहरुले सामान्य कुरालाई समेत फौजी भाषामा अभिव्यक्त गरिदिंदा उनीहरुको सातो जाने गरेको समेत देखिएको छ। यस्तै रामचन्द्र प्रवृत्ति भनेका गाउंले जालीहरुको मानसिकता भन्दा माथि उठ्न सकेको पाइदैन। सत्ताका लागि उपप्रधानमन्त्रीबाट मन्त्रीसमेतमा घटुवा हुनसक्ने व्यक्तिको मानसिकस्थिति सजिलै बुझ्न सकिन्छ। हिजो गिरिजाप्रसाद कोइरालाको २४ सै घण्टा वरिपरि फन्को लाग्ने यी रामचन्द्र प्रवृत्ति एउटा संसदीय दलको नेता भएपछि एउटा चक्कु हतियार पाएको व्यक्तिले तोप पाएजत्तिकै गर्जेर हिड्नुले उनको मानसिक धरातल प्रष्ट हुन जान्छ।

यस्तै, नेकपा एमालेका मन्त्री र नेताहरुले डुडेझारीमा सुकुम्बासीहरुमाथि गोली चलाएर हत्या गर्नुलाई माओवादीलाई मारेको रुपमा ठान्ने मानसिकता पनि देखा परेको छ। भीम रावल वा दीपक बोहरा तथा डम्बर श्रेष्ठहरुको प्रवृत्तिमा कुनै अन्तर रहेन। उनीहरु सामान्य जनतालाई माओवादी र गतिविधिलाई सत्ता कब्जा गर्ने मात्र देख्ने गरेका छन्। यता, प्रधानमन्त्री माधव नेपाल तथा विजय कुमार गच्छेदार प्रवृत्ति पदलाई जसरी पनि टिकाउन लागि परेका छन्। माधव नेपालका लागि प्रचण्डको डर छ र उनको लागि प्रचण्ड हाउगुजी भएका छन् भने बिजय कुमार गच्छेदारको लागि उपेन्द्र यादव हाउगुजी भएका छन्। उनीहरुको कुर्सीमा सुपरग्लुले टांसेर हिडेको अभिव्यक्ति दिएका छन्। हिजो प्रचण्डले सेनापतिको घटनामा सेनापति काण्डमा र गिरिजाप्रसाद कोइरालाले होलेरीमा सेनाले नमानेको कारण सत्ता छोडेको अवस्था थियो। २०५२ मा सत्ताबाट हुत्याइएका माधव नेपालको अहिले सत्ताबाट बाहिरिएमा कुनै पनि समयमा सत्तामा पुग्न सकिदैन भन्ने मानसिकता देखिन्छ। २००७ सालमा ज्ञानेन्द्रले बालखैमा श्रीपेच लगाएकोले २०५८ सालमा त्यत्रो उधुम मच्चाएका थिए, अहिले माधवजी जसरी पनि सत्तामा टिक्न मुलुकको ढुकुटी लुटाउन र भुसतिघ्रेहरुको जमघट  यतार गर्न विदेशीहरुलाई मुलुक नै बेच्न समेत पछि नपर्ने लेण्डुप दोर्जे धर्मपुत्रको अवस्थामा पुगेका छन्।

अहिलेको सत्ताधारी दलको मूर्त रुप भनेको करिमा बेगम भएकी छिन्। पुरानो गाडी पठाएको भनि आफैले सिडिओ कुट्ने त्यसलाई विरोध हुंदा मधेशी र मुश्लिम महिलामाथि आक्रमण भएको भनि प्रचार गर्ने र त्यतिले पनि नपुगेपछि आफूलाई गाली तथा कुटपीट गरेको भनि मुद्दा दर्ता गरेकी छिन् अहिलेको सत्ताको स्वरुप भनेको पनि यही हो। भिम रावलको क्वाटरमा चार वटा मोटर हुंदा हुंदै पनि ९० लाखको मोटर चढेर जनतालाई अरु भन्दा ठूला देखाउने  नयां राजा बनाउने कुरा सामेल छन्। नत्र गरिब जनताका पार्टीका नेतालाई ९० लाखको गाडीको सोख पर्ने थिएन। राजनीति भनेको व्यक्ति र सामूहिक व्यवहारको क्रियाकलाप हो।

मानिसको अचेतन मस्तिष्कमा रहेको अतृप्त बासनाले निर्देशित गर्दा यस्तो हुन्छ भनि यो भन्दा एक सय वर्ष अगाडि सिग्मन फ्रायडले भनेका थिए। यसमा सामान्य अचेतन मनको सामान्य स्थितिले सकारात्मक सोच बढाउंछ तर अतृप्त कुण्ठा र मानसिकताले नकारात्मक प्रवृत्ति र त्यो अतृप्त बासनाबाट ग्रसित तन्तुबाट अभिव्यक्ति भई यसले परपीडक वा विकृतिपूर्ण मानसिकता र क्रियाकलाप बढाउंछ। यो मानसिक रोग हो। अहिलेका नेतृत्व बर्गका क्रियाकलापले मनोरोग देखा परेको छ। यो मनारोगको गम्भीर उपचार आवश्यक छ। अन्यथा रोगी मानसिकता भएका नेतृत्व बर्गले हिनताबोधको मानसिकताले मुलुकको निकास दिन सक्दैन। यो अवस्थामा अहिलेका सत्ताधारी दलहरु र प्रतिगामी प्रतिक्रियावादीहरुलाई तुष्टिकरण गरेर ठीक बाटोमा ल्याउन सक्छु भन्ने यदि माओवादीका नेतृत्वले सोचेका छन् भने यो कुरा सत्ताधारी दलको मानसिक रुग्णतालाई नबुझ्नु हो। रोगीलाई जबरर्जर्स्ती उपचार आवश्यक छ। उसलाई सुम्सुम्याएर, पुल्पुल्याएर वा खुशी पारेर यो मानसिक रोग अरु उद्दण्ड हुन्छ भन्नेतर्फ सोच्न आवश्यक छ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: