RSS

मुलुक भारतको ठाडो उपनिवेश बन्दै

29 Jan

गतवर्ष मई २३ तारिख प्रधानमन्त्री बनेका  माधव कुमार नेपालले  आफ्नो सरकारको एकसय दिन नपुग्दै भारतको आशीर्वाद थाप्न आफ्नो पहिलो राजकीय भ्रमणको आरम्भ अगस्त १८ तारिख भारतबाट गरेका थिए । यो स्वाभाविक थियो किनकी माधव नेपाल भारतकै योजनामा प्रधानमन्त्री बनाइएका थिए । माधव नेपाल प्रधानमन्त्री बने लगत्तै सबभन्दा पहिले भारतीय पुजारीहरूलाई पशुपतिनाथमा बहाल गरेर भारतको ऋणको पहिलो किस्ता भुक्तान गरे । प्रधानमन्त्रीको यस भ्रमण भन्दा ठीक अगाडी अगस्त महिनाकै दोस्रो साता नयाँ परराष्ट्र मन्त्री सुजाता कोइराला दिल्ली पुगेकी थिइन् । माधव नेपालको  भारत भ्रमण आरम्भ हुनुभन्दा मात्र तीन दिन पहिले अगस्त १५ मा आफ्नो पाँच दिवसीय भारत भ्रमण सकाएर उनी काठमाडौं फर्किएकी थिइन् । त्यसपछिका हरेक महिना वा अझै भनौं हरेक हप्ताजसो वर्तमान कठपुतली सरकारमा भएका वा सरकारलाई समर्थन प्रदान गरेका दलका धेरै नेताहरुले खुला वा गुप्त रुपमा दिल्लीको भ्रमण गरिसकेका छन् ।

भारतको विश्वासपात्र बन्ने र उसको ‘गुड बुक’ मा रहने होडबाजीको क्रममा  अक्टुवरमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भारतको भ्रमण गरेका थिए । त्यसै महिनामा दिल्ली दर्शनमा आउने नेताहरुमा भारतीय सत्ताधारी वर्गका पुराना विश्वसनीय मित्र भनेर कहलिएका राष्ट्रिय जनशक्ति पार्टीका सूर्य बहादुर थापा थिए भने अर्कोतिर नेपालमा भारतको स्वार्थलाई पूरा गर्न उसले  वडो सावधानीपूर्वक पालेको र हुर्काएको नयाँ पुस्ताका नेता उपेन्द्र यादव थिए, जो मधेशी जनअधिकार फोरमका अध्यक्ष हुन्  । त्यसपछि नोभेम्वर महिनामा दिल्लीमा हाजिरी लगाउन तीन थान नेताहरु काठमाडौंबाट दिल्लीका लागि छुट्टा-छुट्टै उडेका थिए । ती थिए भारतको वफादार सेवक र प्रवक्ताका रुपमा चिनिएका एमालेका नेता ओली, एमाले अध्यक्ष झलनाथ खनाल र फोरमका उपेन्द्र यादव । स्मरणीय छ, भारतकी विश्वास पात्र रक्षामन्त्री विद्यादेवी भण्डारीले जुलाई महिनामै  भारतको भ्रमण गरेकी थिइन् ।

अर्कोतिर, निजको आग्रह बमोजिम माधव नेपालको सरकारले उपलब्ध गराएको कुटनीतिक रातो राहदानी लिएर डिसेम्बरको दोस्रो साता भारत भ्रमणमा निस्केका पूर्व राजा ज्ञानेन्द्र आफ्नो पाँच साता लामो भ्रमण सकाएर जनवरीको दोस्रो साता नेपाल फर्केका थिए । बाहिर प्रकाशमा नआएपनि उनले सोनिया-मनमोहनसहित अन्य महत्वपूर्ण नेताहरुलाई दिल्लीमा भेटेका थिए ।

जंगी र निजामति नोकरशाहहरू दलालीको अग्रपंक्तिमा

दिल्लीको आशीर्वाद पाउने नेपालका शासकहरुको होडबाजी दिल्लीको दलाली गर्ने नेताहरुमा मात्र सीमित छैन  । नेपालका निजामति र जंगी नोकरशाहहरु पनि यसमा  अग्रपंक्तिमा छन् । कटुवालको उत्तराधिकारी बनाइएका सेनापति छत्रमान सिंह गुरुङले डिसेम्बर महिनामै भारतको भ्रमण गरे । भारतले यस अवसरमा नेपाललाई यसभन्दा पहिले रोकेर राखेको सैन्य सहयोग (जसलाई ‘नन लेथाल मिलिटरी वेपन्स’  भनिएको छ) बहाल गर्ने निर्णय गर्‍यो । सेनापति गुरुङको भ्रमणको पूर्व संध्यामा संयुक्त सचिव स्तरिय सुरक्षा बैठक काठमाडौँमा सम्पन्न भएको थियो । यस सुरक्षा सम्बन्धी बैठकमा भारतीय सेनाले सुर्खेतमा सैन्य हवाई अड्डा बनाइदिने निर्णय लिइएको थियो । तर यसलाई दुबै पक्ष मध्ये कसैले पनि अहिलेसम्म सार्वजनिक गरेका छैनन् । सुर्खेत नेपालको उत्तरी छिमेकी चीनसंग नजीकै सीमा क्षेत्र जोडिएको नेपालको अत्यन्त महत्वको सामाजिक क्षेत्र हो ।

भारतले अतिक्रमण गरेको  त्रिदेशीय सिमाक्षेत्रमा पर्ने नेपाली भू-भाग कालापानी सुर्खेतबाट नजीकै पर्दछ । उपरोक्त गुप्त सम्झौताका अतिरिक्त गोरखाहरूलाई भर्ती गर्ने कामलाई निरन्तरता दिने, सैन्य तालीम दिने र यसैसँग जोडिएका गुप्तचर सूचनाहरुको आदानप्रदान गर्ने लगायतका सम्झौताहरू सेनापति गुरुङको दिल्ली भ्रमणको अवसरमा भएका छन् ।

 

पञ्चेश्वर परियोजना शुरु गर्न नेपाल सहमत

भारतीय नांगो र तीव्र बन्दै गईरहेको हस्तक्षेपको लामो श्रृखलामा नोवेम्बर २२ तारीख अर्को एउटा कडी जोडिएको थियो । दुबै देशका जलस्रोत सचिवहरुको पोखरामा सम्पन्न बैठकमा  ६००० मेघावाटको पञ्चेश्वर परियोजनाको काम अघि बढाउने सम्झौतामा हस्ताक्षर भएको छ । पञ्चेश्वर परियोजना टनकपुर परियोजनाकै अर्को नाम हो, जो ९०को दशकमा भारतसँग भएको असमान महाकाली संन्धि अन्तर्गतको परियोजना हो । यस परियोजनालाई आरम्भ गर्ने सम्झौता गरेर कठपुतली सरकारले दिल्लीलाई राम्रो गुन लगाएको छ भने त्यसको बदलामा माधव कुमार नेपालले अनेकौं पटक भारतीय प्रधानमन्त्री र अन्य नेताहरुका मुखबाट आफ्नो सरकार टिकिरहने आश्वासन र प्रशंसा पाएका छन् । 

यस बीचमा  उच्च तहका भारतीय नेता र नोकरशाहहरुको नेपाल भ्रमण पनि तीव्र भएको छ । भारतीय विदेश सचिव निरुपमा रावले अक्टोवरमा नेपालको भ्रमण गरेकी थिइन् भने भारतीय विदेशमन्त्री एस.एम. कृष्णा आफ्नो तीन दिने नेपाल भ्रमणबाट हालै फर्केका छन् । विदेशमन्त्रीको भ्रमण सकिए लगत्तै भारतीय थल सेनाका सेनापतिले जनवरीको तेस्रो साता नेपालको भ्रमण गरेका छन् । अर्कोतिर भारतीय सेनापतिको नेपाल भ्रमण जारी नै रहँदा  नेपालका गृहमन्त्री भीम रावल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखको दलबल सहित १८ जनवरीमा दिल्ली पुगेका थिए । भ्रमणकै सिलसिलामा उत्तराञ्चलका पूर्व मुख्यमन्त्री भगत सिंह कोसियारी डिसम्बरको अन्तिम साता काठमाडौं पुगेका थिए ।

रक्षा, परराष्ट्र र गृह मन्त्रालय भारतको पकडमा

भारतको दलाली गर्ने नेपालका राजनीतिक दलका राज्यको महत्वपूर्ण ओहदामा असिन नेताहरुको तीव्र गतिमा भारत भ्रमण किन भइरहेको छ भन्ने बुझ्न गाह्रो छैन । यसको थोरै व्याख्या माथि नै भइसकेको छ । यसबाट यो पनि प्रष्ट हुन्छ कि रुक्माङ्गत कटुवाललाई नहटाउन भारतले माओवादीको सरकारलाई दिएको चेतावनीको कारण के थियो । उपरोक्त घटनाक्रमबाट नेपालमाथि भारतको  हस्तक्षेप कुन स्तरसम्म पुगेको छ भन्ने कुरा प्रष्ट हुन्छ । माधव कुमार नेपाल पूर्ण रुपमा भारतभक्त हुन् भन्ने कुरा भारतीय कुटनीतिज्ञहरुलाई राम्रोसँग थाहा छ । तर उनी बिना पिंधका लोटा हुन् भन्ने कुरा पनि उनीहरुले त्यत्तिकै बुझेका छन् । त्यसैले भारतीय सत्ताका चतुर खेलाडीहरु माओवादीलाई सत्ताबाट हट्न बाध्य पारिसके पछि आफ्नो योजनानुसार निर्माण हुने सरकार भारतीय हित प्रति पूर्ण रुपमा सचेत र संवेदनशील होस् भन्ने कुरामा कुनै कसर बाँकी राख्न चाहन्नन् । उनीहरुलाई राम्रोसँग थाहा छ, नेपालमाथि पकड कायम राख्नु भनेको नेपाली सेनामाथि पकड कायम राख्नु हो । त्यसै योजना अनुसार रुक्माङ्गत कटुवालका पक्षमा भारत जमेर लागेको हो । विद्यादेवी भण्डारीलाई रक्षामन्त्री बनाइनुको कारण पनि यही हो । उता सुजाता कोइरालालाई परराष्ट्र मन्त्रीमा आसीन गराएर नेपालको विदेश नीति भारत विरोधी नहोस् भन्ने कुरा भारतीय शासकहरु सुनिश्चित गर्न सफल भएका छन् । त्यसो त माओवादीको सरकारमा पनि विदेश मन्त्रालय उपेन्द्र यादवका जिम्मामा पार्न भारतीयहरु सफल भएका थिए । स्मरण रहोस्, नेपाल पहिले देखी नै भारतको आर्थिक पकडमा छ । रक्षा, विदेश, अर्थ, परराष्ट्र र गृह कुनै पनि मुलुकको सरकारका  सबै भन्दा महत्वपूर्ण मन्त्रालयहरु मानिन्छन् ।  कठपुतली माकुने सरकारको कार्यकालमा रक्षा, परराष्ट्र र गृहजस्तादेशको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग प्रत्यक्ष गाँसिएका मन्त्रालयमा आफूप्रति वफादार दलालहरु भर्ती गरेर भारतले नेपाललाई आफ्नो उपनिवेश बनाउन सफल भएको छ ।

माकुने, गच्छेदार र विद्यादेवीको माओवादी विरुद्ध हुँकारको रहस्यमाथि उल्लेख गरिएका तथ्यहरुको आलोकमा कठपुतली प्रधानमन्त्री माधव नेपालले माओवादीलाई “लिट्टे बनाइदिउंला” भनेर दिने गरेको धम्की, उपप्रधानमन्त्री गच्छेदार र रक्षामन्त्री विद्या भण्डारीले माओवादी विरुद्ध सेना परिचालन हुन सक्छ भनी दिने वारम्वारको धम्कीका पछाडिको रहस्य के हो ? भनेर बुझ्न कसैलाई पनि धेरै अनुसन्धान गरिरहनु पर्दैन । यस प्रसँगमा भारतमा सत्तरीको दशकमा विरोधी दलहरु माथि इन्दिरा गान्धीले पनि यस्तै- यस्तै  प्रकृतिको धम्कीको भाषा प्रयोग गरेर कुख्याती कमाएको प्रसँग स्मरण हुन आउँछ । आफ्ना विरोधीहरु विरुद्धको उनको त्यो हुँकारका पछाडि निर्वाचनमा उनको पार्टीले हासील गरेको प्रचण्ड बहुमत थियो । श्रीलंकाली राष्ट्रपति महेन्द्रा राजपक्षेसँग जनाधार नभएको भए शायद लिट्टेसंग मोर्चा लिने उनले आँट गर्ने थिएनन् । तर नेपालका माकुने र उनका सहयोगी दलालहरुले टेक्ने नेपाली धर्तीमा जनाधार छैन, सबैजसो  निर्वाचनमा पराजित भएका छन् । फेरि पनि एनेकपा (माओवादी), जसले वीरता पूर्वक १० वर्षसम्म भारत, अमेरिका र चीनसमेतको सहयोग-समर्थन प्राप्त नेपाली सेनासँग बहादुरीपूर्वक लोहा लियो, का विरुद्ध किन यस्तो धम्कीको भाषा प्रयोग गर्दैछन् ? यसको एकमात्र कारण हो, भारतीय सत्ताधारीहरुको आशीर्वादले उनीहरु अन्धा बनेका छन् । नेपालका एमाले कांग्रेस लगायतका  दलालहरुले बुझ्नु पर्छ – भरेको खर्च र अह्राएको बुद्धि धेरै टिक्दैन । त्यस्तै जनाधार सिद्धिइसकेका जनविरोधी कांग्रेस र एमाले जस्ता दलहरुलाई उचालेर नेपाललाई आफ्नो नियन्त्रणभित्र राखीरहने दिवास्वप्न देखिरहेका भारतीय सत्ताधारीहरुले पनि बुझ्नु पर्दछ – उचालेको कुकुरले मृग मार्दैन ।

सिक्किमको रणनीतिको नेपालमा भिन्न रुपमा प्रयोग भारतीय तीव्र चलखेलले यतिखेर प्रत्येक राष्ट्रवादी नेपालीका मनमा सत्तरीको दशकमा सिक्किममा बढ्दो भारतीय चलखेलको स्मृतिलाई ताजा गरिदिएको छ । यदि सिक्किममा भारतबाट पालित पोषित सिक्किम राष्ट्रिय कांग्रेस र त्यसका नेता काजी लेण्डुप दोर्जे हुँदैनथे भने भारतले सिक्किमलाई आफ्नो देशमा मिलाउनु सम्भव हुने थिएन । । स्मरणीय छ, भारतको निगरानी र करोडौंको लगानी तथा षड्यन्त्रमा सिक्किममा निर्वाचन गराइएको थियो । सो निर्वाचनमा भारतको नांगो दलाली गर्ने  सिक्किम राष्ट्रिय कांग्रेसले ३३ मध्ये ३२ सिट हासिल गरेको थियो । यसै पृष्ठभूमिमा  सम्पन्न भएको कथित जनमतसंग्रहबाट सिक्किमलाई भारतमा मिलाउने निर्णय गरिएको थियो । मई १९७५ मा सिक्किम भारतको अंग बनेको थियो । भारतले नेपालमा एउटा लेण्डुप दोर्जीमात्र होइन, २५ वटा दलमा छोटे-बडे पच्चीसै थान लेण्डुप दोर्जीहरु तयार पारेको छ । यस अर्थमा सिक्किमलाई बलजफती कब्जा गर्नु र नेपालमाथि वर्तमानमा भएको तीव्र भारतीय हस्तक्षेप झनै खतरनाक छ । दिल्लीलाई थाहा छ, अवको जमाना प्रत्यक्ष हस्तक्षेपको जमाना होइन । सिक्किमजस्ता घटनाहरु नेपालमा हुवहु दोहोर्याउन सम्भव छैन किनकि नेपाली जनता धेरै सचेत छन् । दोस्रो अन्तर्राष्ट्रिय जगतमा नेपाल सार्वर्भौम राष्ट्र हो भन्ने कुरा जनताले संघर्षबाट स्थापित गरिसकेका छन् । तेस्रो नेपालको उत्तरमा  शक्तिशाली चीन छ । यसबाट भारतले चाहेर पनि नेपालमा प्रत्यक्ष सैन्य हस्तक्षेप गर्न सक्तैन । त्यसैले उसले अप्रत्यक्ष हस्तक्षेपको नीति लागू गर्दै आएको छ जो सीधा हस्तक्षेप भन्दा धेरै खतरनाक छ ।

– लक्ष्मण पन्त

 
2 टिप्पणीहरु

Posted by on जनवरी 29, 2010 in BLOG

 

2 responses to “मुलुक भारतको ठाडो उपनिवेश बन्दै

  1. प्रिती माली

    जनवरी 29, 2010 at 1:03 बेलुका

    माओवादीविरुद्व नेपालगन्ज सीमा जोडिएको भारतीय बजार रूपैडिहामा दिनहुँ प्रदर्शन भइरहेको छ । भ्ाारतीय कांग्रेस पार्टी, राष्ट्रिय व्यापार संघ र रूपैडिहा उद्योग व्यापार संघको अगुवाइमा प्रदर्शनकारीले माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहनका साथै चर्का नाराबाजी गरिरहेका छन् ।

    प्रचण्डले माफी नमागेसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ । माओवादीले भारत र राष्ट्रिय झन्डाको अपमान गरेको भन्दै रूपैडियाका व्यापारीले बिहीबार रूपैडियाबजार बन्द गरे । बुधबार साँझ पनि उनीहरूले माओवादी अध्यक्ष प्रचण्डको पुत्ला जलाएका थिए ।

    दैनिक उपभोग्य सामान किन्न रूपैडिहाबजार पुगेका नेपालीमाथि भारतीय सीमा सुरक्षाबल एसएसबीका जवानले दुव्र्यवहार गरेका छन् । उनीहरूले बिहीबार नेपाल-भारत आवतजावतमा रोक लगाए । दिनभरजसो भारतीय सवारीसाधन र सर्वसाधारणलाई पनि एसएसबीले आवातजावत गर्न दिएको थिएन । भारतीय गाडीहरू रूपैडिहामा थन्किएका छन् । एसएसबीले कडा सुरक्षाजाँच गरी सर्वसाधारणलाई छिटफुट रूपमा हिँड्न दिएको छ । तर, सामान ल्याउन भने पूर्ण रोक लगाएको छ ।

    नेपालीहरूमाथि कडा चेकजाँचका लागि लखनउबाट भारतीय सुरक्षा अधिकारी रूपैडिहा आइपुगेको सुरक्षास्रोतको भनाइ छ । चेकजाँचविना कसैलाई पनि नेपाल-भारत ओहोरदोहोर गर्न दिइएको छैन ।

    आफ्नो राष्ट्रियतामाथि आँच आउनेगरी माओवादीले क्रियाकलाप गरिरहेको भन्दै दबाबस्वरूप वजार बन्द गरिएको रूपैडिया उद्योग व्यापार संघका अध्यक्ष छेदीलाल मधेसियाले जानकारी दिएका छन् । उनले भारतको राष्ट्रियताको विरोध नगर्न माओवादीलाई सुझाब दिँदै कूटनीतिक ढंगले समस्याको निकास खोज्न आग्रह गरेका छन् ।

    राष्ट्रिय व्यापार मण्डलले बिहीबार दिउँसो रूपैडिया थाना इन्चार्जमार्फत जिल्ला प्रशासन कार्यालय बाँके र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै भारतीय राष्ट्रियतामाथि खेलवाड नगर्न चेतावनी दिएको छ । मण्डलले खेलवाड जारी राखे नाकाबन्दी गर्ने चेतावनीसमेत दिएको छ ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र बानियाँले बहराइच जिल्लाका डिएम अजय चौहानसँग प्रदर्शनबारे टेलिफोन वार्ता गरेका छन् । उनले सिमानामा भइरहेको प्रदर्शनले सर्वसाधारण मारमा परेको जानकारी गराएको बताए ।

    ‘मैले टेलिफोनमार्फत यहाँको अवस्थाबारे त्यहाँको डिएमसँग वार्ता गरेको छु,’ उहाँले सर्वसाधारणलाई दुःख हुँदैन भनेर वचन दिनुभएको छ,’ प्रजिअ बानियाले नयाँ पत्रिकासँग भने । उनले रूपैडिहामा भइरहेको प्रदर्शनबारे केन्द्रलाई जानकारी गराएको बताए ।

    माओवादीविरुद्व प्रदर्शन भइरहँदा भारतीय सीमा सुरक्षाबल एसएसबीले आफ्नो गतिविधि बढाएको छ । उसले सिमानामा कडा चेकजाँच गरिरहेको छ । नेपालगन्ज-रूपैडिहाका नाकासँगै एसएसबीका जवानहरू अन्य नाकामा पनि तैनाथ गरिएका छन् । सिमानामा कुनै अपि्रय घटना हुन नदिन एसएसबीका जवान तैनाथ गरिएको बताइएको छ । नेपालगन्जबाहेक अन्य नाकामासमेत एसएसबीले कडा सुरक्षा दिइरहेको छ ।

     
  2. Pradeep Pundit

    जनवरी 30, 2010 at 2:04 बिहान

    हटेका मेरो भ्रमहरु

    छिमेकीहरु,
    बैगुणी रैछन्
    मिलेर भएन
    कुल्चने रैछन्
    सहेर पनि भएन
    अब त,
    मलाई यसरी मिल्नु छैन
    थप ज्यादती सहनु पनि छैन ।

    कुपुत नेताहरु,
    असक्षम रैछन्
    बुइ चदाएर भएन
    पत्थर रैछन्
    सत्य बुझाएर पनि भएन
    अब त,
    फेरी काधमा बोक्नु छैन
    भन्नु पनि केही बाँकी रहेन ।

    छिमेकीसँग झुकेर पनि भएन
    नेताहरुलाई भुकेर पनि भएन
    उनिहरु ठान्दा रैछन्,
    हामीलाई अझै गिराउनु पर्छ
    हामीलाई सधैं पिराउनु पर्छ ।

    अब त मौनता तोड्नु पर्छ
    धैर्यताको बाध फोड्नु पर्छ
    झुकाउनेलाई जित्नै पर्छ
    भुकाउनेलाई थुक्नै पर्छ ।

    नत्र पटक पटक,
    बुद्ध भारतीय भनेर
    लेखिरहनेछन जकारीयाहरु
    लुम्बिनी उतैको भनेर
    धावा बोलिरहनेछन छिमेकीहरु
    र,
    चुपचाप समर्थन गरिरहनेछन
    हाम्रै रगत मिसिएका पाखन्दी भरौतेहरु ।
    29 Jan,’10
    http://madihungri.blogspot.com/

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: