RSS

अयोग्य लडाकु कि माओवादी ?

31 Jan

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी (संक्षिप्त नामः माओवादी) का शिविरमा रहेका लडाकूहरू धमाधम अयोग्य सावित हुंदै शिविरबाट बाहिरिंदै छन् । सडक निर्माण गर्दाको ज्याला १२ हजार र अनमिनले दिएको १० हजार रूपैयां खल्तीमा राखी, अनमिनले नै दिएको एकजोर कपडा पहिरिएर रित्तो झोला बोक्दै बाहिरिएका छन् । उनीहरूसंग शिविरमा रहेको एउटा प्रमाणपत्रको छेस्को बाहेक अरू केही छैन । जुन छेस्को न खान मिल्छ, न लगाउन नै दिन्छ । डिग्री गरेका जेहेन्दार मानिसका प्रमाणपत्र त दराजमा राख्दा-राख्दा मुसाले काटेर धुजा-धुजा भएको अवस्थामा अनमिनले दिएको त्यो छेस्को के काम ? त्यसमा पनि अनमिनले अयोग्य भनेको, माओवादीले अयोग्य हो भनेर साछी बसेको सर्टिफिकेट लिएर जागिरका लागि कसैको दरबाजा खट्खटाउंदा पाउने कुरै भएन । आमूल परिवर्तनको लागि ज्यान हत्केलामा लिएर लडेका लडाकाहरूलाई परिवर्तनपछि राज्यले राम्रोसंग सम्बोधन गर्ला भनेर आशा लिएका विचराहरू धमाधम अयोग्यताको प्रमाणपत्र लिएर पो फर्कनुपर्‍यो ।

वास्तवमा अनमिनले उनीहरूलाई अयोग्य घोषणा गरी शिविरबाट बाहिर पठाएर ठीकै गरेको हो । उनीहरू अयोग्य नै हुन् । योग्य हुन्थे भने उनीहरू उतिबेला अरू लड्थे र नेपाललाई सामन्तवाद, साम्राज्यवाद तथा घरेलु प्रतिक्रियावादबाट मुक्त पार्ने थिए । उनीहरू लड्न त निकै लडे तर, मुलुकलाई जुन खाडलबाट मुक्त पार्नुपर्ने थियो, त्यसबाट मुक्त पार्न सकेनन् । राजतन्त्रलाई त उखेले तर, राजतन्त्रात्मक प्रतिक्रियावादलाई उखेल्न सकेनन् । तोकिएको मिशन पूरा गर्न नसक्नेलाई योग्य मान्न हुंदैन । अयोग्य नै हुन्छन् । अयोग्यताको प्रमाणपत्र दिनुपर्ने हुन्थ्यो, अहिले अनमिनले त्यही प्रमाणपत्र दिने काम गरेको हो ।

हुनत यो प्रमाणपत्र अरूलाई पनि दिनुपर्ने हुन्छ । माओवादी जनमुक्ति सेनाका कमाण्डर बनेका प्रचण्डलाई पनि अयोग्यताको प्रमाणपत्र दिनुपर्ने देखिन्छ । उनले नै हतियार विसाउन पठाएका हुन् । नन्दकिशोर पुन पासाङ, चक्रपाणि खनाल वलदेब पनि अयोग्य सावित भएका जनसेना अधिकृतहरू हुन् । जनमुक्ति सेनाको शिर्ष तहमा बसेका कमाण्डरहरू अहिले अयोग्य सावित भएका जनमुक्ति सेनाहरूभन्दा ठूला अयोग्य कमाण्डरहरू हुन् । उनीहरूले हतियार विसाएकै कारण तल्ला तहका जवानहरूले हतियार विसाएका हुन् । उनीहरूले नै उतिबेला योग्य ठानेर जनमुक्ति सेनामा भर्ना लिएका थिए । अहिले उनीहरूले नै ती लडाकाहरूलाई अयोग्यताको ट्याग लगाउन अनमिनलाई सघाइरहेका छन् । यसलाई संयोग मान्ने कि विडम्बना ?

यहां बुझ्नुपर्ने कुरा के छ भने कुनै ब्यक्ति विशेष योग्य र अयोग्य हुंदैन । योग्यता जांच्ने कसी कुनै पात्र हुन सक्तैन । योग्य र अयोग्य हुने भनेको रणनीति र कार्यदिशा हो । माओवादीले सत्ता प्राप्त गर्न सकेन । सिष्टम प्राप्त गर्न सकेन । युद्धमा निपूर्णतापूर्वक लड्यो । दशौं हजार योद्धाको रगतले पार्टीको झण्डालाई सिंचित गर्‍यो । अत्यधिक उर्जा पार्टीले प्राप्त गरेको थियो । तर, अन्त्यमा आएर “पहाड खन्दा मुसा भेटियो” भनेजस्तो भन्दा अरू उपलव्धि हात लागेन । अहिलेका सबैभन्दा ठुला नेता मानिएका गिरिजाप्रसाद कोइरालाले उतिवेला बुटवलमा एउटा भाषणका क्रममा भनेका थिए- गाउंजति माओवादीले आफ्नो कब्जामा लिइसके, अब शहर बचेको छ, त्यो तपाईं हामी मिलेर जोगाउने हो । त्यतिबेला उनी नेपालका प्रधानमन्त्री थिए । माओवादीले संसदीय ब्यवस्थालाई पराजित गरिसकेको त्यो एउटा अभिब्यक्ति थियो । तर, जब सातदलले आफ्नो गुमेको सत्ता आफ्नो हातमा लिनकोलागि माओवादीसंग हात बढाएर जुन कुटनीतिक र रणनीतिक चालबाजी गरेर बन्दूक विसाउन वाध्य पारे, त्यसपछि नै माओवादीको हार शुरू भएको हो । त्यसपछिका दिनमा त माओवादी हरेक मोर्चामा हार्दै-हार्दै गयो । त्यसैको परिणाम स्वरूप अहिले त्यतिबेला युद्ध मोर्चा जितेका, मोर्चा सम्हालेका लडाकाहरूलाई प्रतिक्रियावादी संयन्त्रले धमाधम अयोग्यको विल्ला भिराइदिंदै शिविरबाट बाटा खर्च दिएर लखट्दै छ । त्यसमा औपचारिकताको सामान्य भाषण गर्दै, विदा हुनेहरूलाई माला पहिराइदिएर ताली पिट्दैछन् कमाण्डर बनेका प्रचण्ड, पासाङ र वलदेबहरू । त्यसैले यसलाई विडम्बना मान्नुपरेको हो ।

एमाले नेता केपी ओलीले अहिले भन्दैछन्ः बाटाघाटामा हिंडेका मानिसहरूलाई गोली हान्दै हिंड्ने माओवादीलाई नेपाली सेनामा समायोजन गर्न कहां हुन्छ ? हुंदै हुन्न । रक्षामन्त्री विद्या भण्डारीले भनेको कुरा नै सरकारको आधिकारिक धारणा हो । जसले जति ढाकछोप गरेपनि सत्य त्यहि नै हो । उनिहरूले यो कुरा त्यसै भनेका होइनन् । यस्तै भनाई नेपाली सेनाकोतर्फबाट पनि आएको छ । ठीक यहींनेर केपी ओलीले के पनि भनेका छन् भने नेपाललाई एक सूत्रमा बांध्ने, एक ढिक्का बनाएर आजसम्म राख्ने काम नेपालको राजतन्त्रले गरेकोले त्यसको श्रेय राजतन्त्रलाई दिनुपर्छ । उनको यो भनाई र रक्षामन्त्री तथा नेपाली सेनाको भनाई एकैसाथ आउनुलाई संयोगमात्र मान्न मिल्छ ? यहां अब नेपाली सेनाको ग्राण्ड डिजाइनमा बस्तु अर्कै ढंगले अघि बढिरहेको छ । पूर्व राजा भर्खर भारतको भ्रमणमा गएका थिए । उनको भ्रमण निजी निश्चितै होला, तर, यसको पछाडि थुप्रै यस्ता कारणहरू छन् जसले प्रतिगमनकारीलाई मलजल दिने काम गरेको छ ।

अब नेपालको राजनीति अग्रगमनतर्फ जाने कुरा सपनाजस्तो बन्दैछ । बस्तु धेरै तरिकाबाट पछाडि फर्किरहेको छ । चुनावमा हारेका ब्यक्ति कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्री भएका छन् । जसको पक्षमा जनमत छैन उसले भनेको कुरा निर्वाचन प्रणालीको राजनीतिमा कसरी लागू हुन्छ ? कसले पत्याउंछ ? उनले जति नै लचकदार साहित्यिक शैलीमा भाषण गरून्, त्यो नेपाली जनताकाबीचमा हांसो मजाकमात्र भइरहेको छ ।

एउटा कुरा के हो भने संविधान सभाको निर्वाचनपछि नेपाली कांग्रेसको राष्ट्रपति, एमालेको संविधान सभाध्यक्ष, माओवादीको कार्यकारी अधिकारप्राप्त मन्त्रीपरिषद्, र फोरमको उपराष्ट्रपति भागबण्डा गरियो । अरूको भागबण्डा त यथावत छ तर, माओवादीको भाग भने उनीहरू मिलेर खोसे । खोसेर आफ्नो हातमा लिंदै मन्त्रीमण्डललाई यस्तो कार्टुनको बस्तु बनाइदिए कि मन्त्रीमण्डल स्वीकार्न पनि मानिसलाई समस्याको विषय बन्यो । नस्वीकार्दा सरकार हो, स्वीकार्दा दुई ठाउंबाट निर्वाचन हारेको मानिस मन्त्रीमण्डलको नेता छ । कस्तो असजिलो बेमेल ? माओवादीलाई उनीहरूले हटाउनकै लागि मन्त्रीमण्डलको जिम्मा दिएको यतिबेला ठहरियो कि ठहरिएन ? उनीहरूले भागबण्डामा पारेका पदहरू स्थायी चरित्रका भए, माओवादीको भागमा पारेको मन्त्रीपरिषद् सानो सिन्को हल्लाउंदा भत्कने प्रकारको भइदियो । यो त्यसै भएको थिएन । यसका पछाडि जुन ग्राण्ड डिजायन बनाइएको थियो, त्यो कुरा माओवादीले बुझ्न सकेन । यसरि सिंगो माओवादी नै अयोग्य ठहरिएको छ । त्यतिमात्रै होइन, ऊ दिनदिनै ठगिंदै जांदो पनि छ ।

अब माओवादीको अगाडि दुईओटा मात्रै विकल्प छन् । एउटा दलहरूसंग मिलेर सरकारमा सामेल हुनु र अर्को विद्रोह गर्नु । संविधान बनाउने भन्ने जुन कुरा छ, त्यसमा पनि माओवादी पराजित भएरै छाड्छ । यसमा कुनै शंका नगरे हुन्छ । कस्तो पार्टीलाई अहिले कस्तो बनिसक्यो, कस्ता लडाकाहरूको अहिले कुन हालत पारिंदैछ भने संविधान बनाउने कुरामा उनीहरूले माओवादीलाई उसको प्रकारको बनाउन दिन्छन् ? यस्तै हुंदै गयो भने माओवादीले पनि उनीहरूले लेखेको संविधानमा फड्के किनाराको साछी बन्नु बाहेक अरू केही उपलब्धी हासिल गर्न सक्नेवाला छैन ।

माओवादी अब या त पुराना सात राजनैतिक दलहरूसंग सति जानैपर्छ, होइन भने उसले अर्को युद्ध जित्ने कार्यदिशा निर्माण गरेर अघि बढ्नुपर्छ । अब दोधारमा रहेर शिविरका लडाकूलाई अयोग्यताको विल्ला भिराउंदै विदा गर्दै त्यहीं बस्ने हो भने सरकार त उसले पाउला, सत्ता निश्चितै पाउन सक्तैन । अव शिविरमा बचेका औंलामा गन्न मिल्ने माओवादी लडाकूहरूलाई आत्मसमर्पण गराई सेनाका केही पदहरू दिइएला, कतिलाई अन्तै पठाइएला तर, त्यो पनि आत्मसमर्पण गरेपछिमात्र । यसवाट माओवादीले के पाउंछ के गुमाउंछ यो उसले जान्ने कुरा हो । तर, नांगा आंखाले हेर्दा माओवादी कार्यदिशाबाट धेरै टाढा पुगिसकेको छ । उसले मोर्चा हारिसकेको छ ।

– सन्त खरेल

 
3 टिप्पणीहरु

Posted by on जनवरी 31, 2010 in BLOG

 

3 responses to “अयोग्य लडाकु कि माओवादी ?

  1. वावु

    जनवरी 31, 2010 at 2:55 बिहान

    सांच्चै यथार्थता वोकेको लेख लाग्यो यो ।

     
  2. संगीता

    जनवरी 31, 2010 at 2:57 बिहान

    माओवादी कार्यदिशाबाट धेरै टाढा पुगिसकेको छ । उसले मोर्चा हारिसकेको छ । यसरि सिंगो माओवादी नै अयोग्य ठहरिएको छ ।

     
  3. comrade smile

    फ्रेवुअरी 1, 2010 at 3:38 बेलुका

    bastab ma ayogya ta mao badi nai ho.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: