RSS

धरापमा शान्ति प्रक्रिया

02 Feb

सुदर्शन मंगोल

तत्कालिन नेपाल सरकार र नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताको मूल प्रस्तावनामै भनिएको छ- ‘नेपाली जनताले ००७ साल पहिलेदेखि हालसम्म पटक-पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलनमार्फत् लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्ने, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगीक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुनःर्संरचना गर्न संकल्प गर्ने ।’ त्यस्तै सोही सम्झौताको बुंदा नं. ३ को ‘राजनैतिक, आर्थिक-सामाजिक रुपान्तरण र द्वन्द्व व्यवस्थापन’ विषयक अवधारणामा प्रस्टरुपले भनिएको छ- ‘सामन्तवादका सबै रुपहरुको अन्त्य गर्ने, आर्थिक, सामाजिक रुपान्तरणको न्युनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर लागू गर्दै जाने, सामन्ती भू-स्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यक्रम हरुवा चरुवालगायत आर्थिक, सामाजिकरुपले पछाडि परेका वर्गलाई जग्गालगायत आर्थिक, सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिने ।’

शान्ति, परिवर्तन र अग्रगमनका पक्षमा गरिएका यी माथिका असाध्यै सुन्दर र लोभलाग्दा जति पनि सहमति र सम्झौताहरु भए ती फिटिक्कै लागू र कार्यान्वयन हुन सकेका छैनन् । बरु विभिन्न बखेडाहरु झिकेर संसद्वादीहरु कार्यान्वयनको तहबाट भागिरहेका छन् । भागुन्, कतिदिन भाग्दा रहेछन् ? भर्खरै मात्र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गरिएको छ । यो संयन्त्रप्रति कुनै नेपाली जनताले विरोध गर्ने ठाउं त छैन तर विगतदेखि वर्तमानसम्म भएका थुप्रै सहमति र समझदारीका पुलिन्दाहरुलाई हेर्दा हालै बनेको संयन्त्र तीव्र परिवर्तन र अग्रगामी आर्थिक, सामाजिक रुपान्तरण चाहने परिवर्तनकामी जनताका निम्ति ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैं भएको छ । त्यसभित्रको पुलिन्दा हेर्दा पनि त्यस्तै देखिन्छ ।

अहिले जता हेर्यो त्यतैतिर दक्षिणपन्थीहरुको बोलवाला र हैकम छ । यो सरकार, यो सेना, यो ब्यूरोक्रेसी, यही संयन्त्र सबैतिर हेर्यो दक्षिणपन्थीहरुको जब्वर हैकम र प्रभाव । अग्रगामी र परिवर्तनकारीहरु त सधैं पर्दापछाडि । दशक लामो माओवादी जनयुद्धले कत्रो क्रान्ति र परिवर्तनको आकांक्षाहरु बोकेर आएको थियो । त्यतिमात्र होइन, त्यसले दश वर्ष लामो जनयुद्धको क्रममा थुप्रै परिवर्तनका कार्यहरु गरेर देखाएको थियो । त्यही जनयुद्धको बलमा नै अढाई सय बर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन पुग्यो । गणतन्त्रको स्थापना पछाडि त पूरै गति शुन्यजस्तै लाग्ने नेपाली समाजको अग्रगमनको यात्रा असाध्यै धिमा गतिमा अघि बढ्दैछ । जुन गन्तव्य दूरी र लक्ष्यमा पुर्‍याउन सक्ने सक्षम ड्राईभर र क्याप्टेनको क्षमतामा क्षयीकरण छ अनि कसरी शान्ति प्रक्रियाले गति लिन सक्छ ?

तीन वर्ष पूरा भइसकेछ बृहत शान्ति सम्झौता भएको । शान्ति-शान्ति भन्दै, शान्तिको नारा जपेर यथास्थितिवादी संसद्वादी र प्रतिगामीहरु मुलुकमा परिवर्तन शब्द पनि चाहदैनन् । यसले कसरी देशमा शान्ति कायम हुन सक्छ ? कसरी शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न सक्छ ? कथित् शान्ति र संविधानको मात्र नाम जपेर यथास्थितिवादी संसद्वादीहरु मुलुकमा मूर्दा शान्ति, दक्षिणपन्थीहरुको एकछत्र राज कायम गर्न खोजिरहेका छन् । क्रान्तिकारी माओवादीहरुलाई यथास्थिति र सुधारको दलदलमा फसाउन खोजिरहेका छन् । त्यो दलदलमा फस्ने कि नफस्ने भन्ने कुरा माओवादीहरुको हातमा छ । हामी चाहन्छौं दशक लामो रगतको भेल तरेर आएका क्रान्तिकारी माओवादीहरु त्यो फोहरी र घिनलाग्दो संसद्वादको चंगुलमा फस्नु हुंदैन ।

अग्रगमन, परिवर्तन, दिगो शान्ति र जनसंविधान वर्तमानको माग हो । तत्काल जनता रोटी र शान्ति चाहन्छन् । एक छाक खाना नखाइकन कसरी एउटा किसानको मनमा शान्ति कायम होला ? पहिलो कुरा त गांस र सास हो । गांस भनेको रोटी हो र सास भनेको शान्ति हो । गांस र सास नभएको देशमा कसरी शान्ति कायम हुन सक्छ ? त्यो शान्ति कायम नभए समग्र शान्ति प्रक्रियाले कसरी पूर्णता पाउन सक्छ ? मुलुकमा व्याप्त अशान्ति, असुरक्षा, चर्को लोडसेडिङ, आकासिदो महंगी यही नै वर्तमान नेपालीको नियति बनेको छ । त्यसै त थोत्रो नेपाल, त्यही नेपालमा थोत्रो विचार र दिमाग भएका ‘डेट एक्सपाएर’हरुले कसरी नयां र परिवर्तनको रोशनी दिन सक्लान् ? यिनै शासकहरुबाट शान्ति कायम होला, अग्रगमन र परिवर्तनको ढोका खुल्ला भनेर आश गर्नु भनेको ‘आकाशको फल, आंखा तरी मर’ जस्तै हो ।

बृहत शान्ति सम्झौताको प्रस्तावना र बुंदाहरुमा प्रष्टरुपले ‘देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुनःर्संरचना गर्ने’, ‘सामन्तवादका सबै रुपहरुको अन्त्य गर्न आर्थिक, सामाजिक रुपान्तरणको न्युनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर जाने’ अनि ‘सामन्ती भू-स्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कायक्रम लागू गर्ने’ जस्ता आकर्षक क्रान्तिकारी शब्दजालहरु राखिएको छ । तर, ती नाराहरुलाई थोरै पनि व्यवहारमा सम्पादन गरेर जाने कुरा गर्दा संसद्वादीहरु मुन्टो बटार्ने गर्दछन् । अनि यस्तो पाराले देशमा कसरी दिगो शान्ति कायम हुन सक्ला र ? अग्रगामी पुनःर्संरचना गर्ने, सामन्ती भू-स्वामित्वको अन्त्य गर्ने जस्ता मुद्दाहरुलाई माओवादीको मात्र नारा हो भनेर संसद्वादीहरु लगातार परिवर्तनको यात्राबाट भागिरहेका छन् ।

विगत र वर्तमानलाई केलाएर हेर्दा हामीले के देख्यौं भने संसद्वादीहरुको नेतृत्व, नीति र कार्यक्रम रहादासम्म नेपालमा न शान्ति कायम हुन सक्छ, न त देशमा परिवर्तनको मुहार नै बदलिनेछ । संसद्वादीहरु खासगरी एमाले-कांग्रेसहरु सत्तामा रहंदासम्म यिनीहरुको नेतृत्वबाट देशमा अग्रगमन र परिवर्तनको गाडी डेग चल्ने छैन । बरु संसद्वादीहरु नेतृत्वमा रहिरहे देश अर्को भड्खालोमा फस्नेछ । शान्ति प्रक्रिया धरापमा पर्नेछ, जुन प्रक्रिया शुरु भइसकेको छ । जनसंविधान लेखन, अग्रगमन र परिवर्तनका सबै कार्यक्रम अगाडि बढ्ने छैनन् । जुन हामीले देखिसक्यौं यो बीचमा ।

शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण पक्ष जनमुक्ति सेना र नेपाली सेनालाई एकआपसमा समायोजन गर्ने, जनमुक्ति सेनालाई व्यवसायीकरण र नेपाली सेनालाई लोकतान्त्रिकरण गर्ने यी काम गर्न छोडेर नेपाल सरकार र अनमिनले हठातमा जनसेनालाई ‘कथित् अयोग्य’ घोषणा गरेर देशमा अर्को युद्धको विजारोपण गर्न पुगेको छ । नेपाली सेनाका निवर्तमान जर्नेल राजेन्द्र थापाको शब्दमा भन्दा ‘सरकार जनसेनाहरुलाई अयोग्य घोषणा गरेर देशमा आगो सल्काउन अयोग्य लडाकुहरुलाई सलाईका कांटीका रुपमा घर पठाउंदैछ ।’ गणतन्त्र ल्याउन यत्रो परिवर्तन ल्याउन ठूलो भूमिका निर्वाह गरेका जनसेनाका योद्धाहरुलाई यति अपमानित गरेर जसरी सरकारले सौतेनी व्यवहार गरेको छ त्यसको गतिलो जवाफ उसले पाउने निश्चित छ । अयोग्य भनिएका जनसेनाहरुले अहिल्यै सरकारलाई चुनौति दिइसकेका छन् कि ‘हामी कुनै हालतमा पनि अयोग्य होइनौं, शान्तिका लागि त्याग गरेका हौं, हाम्रो तागत अब देखाउनेछौं ।’ उनीहरुले के सम्म पनि चेतावनी दिएका छन् भने ‘केही सीप नलागे हामी लिम्बुवान, खम्बुवानतिर पनि जाने छौं ।’ यस्तै आक्रोशका ज्वाला बोकेर जनसेनाहरु बाहिर निस्केका छन् । सरकार र अनमिन त विजातिय वर्गका भइहाले भइहाले तर त्यत्रो वर्ष जनसेनाको भरोसा र अभिभावकत्व निर्वाह गरेको माओवादी पार्टी र त्यसका कमाण्डरहरुले पनि जसरी लचकताको नाममा अडान लिन सकेनन्, अब निस्कने परिणामको केही हिस्सा उनीहरुले पनि लिनुपर्नेछ । देशको यस्तो स्थितिमा मुलुक कता जाला र के होला ? सबैतिर शंका र आशंकाका बादलहरु बाहेक अरु कुनै उज्यालो देखिदैन हाम्रा सामु ।

हामी राज्यको पुनःर्संरचना गर्ने र आर्थिक, सामाजिक रुपान्तरणका कार्य गर्दै जाने, सामन्ती भू-स्वामित्वको अन्त्य गर्ने र क्रान्तिकारी भूमिसुधार गरेर किसानहरुलाई जग्गा वितरण गर्नेजस्ता सहमतिहरुमा हस्ताक्षर गरेका छौं तर उल्टो असीमित जग्गाका धनीहरुलाई जग्गा फिर्ता गरिदिएका छौं । किसानहरुका हातबाट जमिन खोसेर सामन्तहरुलाई बुझाई उल्टो जमिन्दारहरुलाई हंसाएका छौं । सरकारले सुकुम्वासीहरुको बस्ती जलाइदिएर उनीहरुलाई खुल्ला आकाशमा बस्न बाध्य पारेको छ । अनि यसरी शान्ति पाउंछन् त किसान र सुकुम्वासीहरुले ? किसानको गांस लुटेर, सुकुम्वासी बस्ने झुप्रा जलाएर के शान्ति प्रक्रियाले गति लिन सक्ला ? असम्भव, बिल्कुल असम्भव । त्यसैले त शान्ति प्रक्रिया धरापमा परेको छ । शान्तिको मुहानमा आगो लगाएर परिवर्तन विरोधी, प्रतिगामी र यथास्थितिवादीहरु देशलाई भीषण युद्धतिर धकेल्दैछन् ।

हामी सबैलाई थाहा छ- संविधान सभा, गणतन्त्र, अग्रगमन, राज्यको अग्रगामी पुनःसंरचना, संघीय अवधारणा, सेना समायोजनजस्ता नयां नेपाल निर्माण गर्ने सबै महत्वपूर्ण कार्यसूचिहरु माओवादीका हुन् । आज त्यही शक्ति राज्य सञ्चालनको केन्द्रमा छैन । जुन शक्ति (पार्टी)हरुको स्पष्ट दृष्टिकोण (भिजन) छैन, त्यही संसद्वादी शक्ति सरकारको नेतृत्वमा छ । विचार, नीति र कार्यक्रम एउटाको हुने तर त्यसको नेतृत्व अर्कै हुने, नेपालको यही विडम्बनायुक्त स्थितिले मुलुक गम्भीर दुर्घटनाको स्थितिमा छ । यसबाट मुलुकलाई पार लगाउन पुनः अर्को जनविद्रोहको आवश्यक्ता परेको छ । त्यो जनविद्रोहले मात्र मुलुकलाई दुर्घटनाको स्थितिबाट बचाउन सक्नेछ ।

sudarshanmangol@gmail.com

 
टिप्पणी छोड्नुहोस्

Posted by on फ्रेवुअरी 2, 2010 in BLOG, GUEST

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: