RSS

सामाजिक सुरक्षा – बहस र विवाद

07 Feb

– गणेश रेग्मी

बितेका केही वर्षदेखि नेपालमा रहेको बेरोजगारीको समस्या र मजदुरहरूले पाउने गरेको अपर्याप्त ज्यालाको विषयमा श्रमबजारमा तीव्र बहस र विवाद हुँदै आइरहेको छ । रोजगारदाताहरू विद्यमान श्रम कानुन ‘श्रमबजारलाई उपयुक्त नभएको’ भन्ने तर्क गरिरहेका छन् भने ट्रेड युनियनहरू पनि श्रम कानुनले समग्र श्रमबजारलाई छुन नसकेकोमा आक्रोशित छन् । खासगरी मजदुरहरूको न्यूनतम वेतन, उनीहरूको सामाजिक सुरक्षा, ट्रेड युनियन अधिकार र सामूहिक सौदाबाजी, अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूका सवालमा विद्यमान श्रम कानुन पर्याप्त छैन । श्रम कानुनमा जे छ, तिनको पनि कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ । श्रम अदालत र श्रम कार्यालयहरूबाट दिइने निर्णयहरू पनि मजदुरहरूका लागि एकदमै ढिला, भद्दा र झन्झटिला छन् ।

मजदुरहरूको रोजीरोटी र सामाजिक सुरक्षाको ग्यारेन्टी नहुँदा श्रम बजारमा अनेक अप्ठ्याराहरू देखापरिरहेका छन् । यो विषय मजदुरहरूका लागि अत्यन्तै महत्त्वपूर्ण भए पनि बल्लतल्ल मात्र यसले चर्चा पाउन थालेको छ । सामाजिक सुरक्षाबारे समग्रमा नेपाली समाजले बुझ्न बाँकी नै छ अर्थात् भनौं यो विषयको बुझाइमा अनेकता जारी छ । पुँजीपति वर्गले ‘हायर एण्ड फायर’ को नीति र श्रमलाई बजारको वस्तुका रूपमा व्यवहार गर्न खोजिरहेको छ । र, त्यही माग अहिले राज्यसँग पनि गरिरहेको छ । तर हामी त्यसका विरुद्ध स्वास्थ्य, असक्तता र बेरोजगारी बिमालगायतका सामाजिक सुरक्षाको विषय उठाइरहेका छौं ।

वर्तमान कानुनमा मजदुरहरूको सामाजिक सुरक्षाको व्यवस्था गरिएको छैन । यद्यपि, सञ्चयकोष, उपदान, कल्याणकारी कोष, वासस्थानको व्यवस्था दुर्घटना बिमा, जीवन बिमा क्षतिपूर्ति, पेन्सन लगायतका केही विषयहरू केही ठाउंहरूमा देखिए पनि समग्रमा यो लागू छैन, यसले सबै पेसा र व्यवसायमा संग्लन्न मजदुरहरूलाई छुन सकेको छैन । खासगरी अहिलेसम्म जेजति भएका छन्, त्यो पनि दसजनाभन्दा कम काम गर्ने प्रतिष्ठानमा लागू भएकै छैन । रोजगारदाताहरूले पनि मजदुरहरूलाई ठेक्का, करारतर्फ धकेल्नेजस्ता समस्याका कारण औद्योगिक शान्ति पेचिलो र जटिल बन्न पुगेको छ । त्यसमाथि अनौपचारिक क्षेत्रका मजदुरहरू पूर्णतः सामाजिक सुरक्षाको घेरा तथा कानुनी दायराभन्दा बाहिर छन् । यस्तो अवस्थामा मजदुरहरूको सामाजिक सुरक्षाको विषयमा राज्यले यथेष्ट ध्यान दिन जरुरी छ भनेर हामीले माग गरिरहेका छौं ।

जुनसुकै मानिस आफ्नो उमेरले काम गर्नसक्ने भएपछि केही काम गरेर आफू र आफ्नो परिवारको हेरचाह, शिक्षा, स्वास्थ्यलगायतको व्यवस्थापनमा जुट्नुपर्ने उसको कर्तव्य हुन आउँछ । त्यस्तो स्थितिमा यदि कुनै मानिसले रोजगारी पाएन वा रोजगारी पाए पनि विविध कारणले उसको रोजगारी गुम्यो वा काम गर्दागर्दै चोटपटक लाग्यो र अशक्त भयो भने उसलाई त्यो स्थितिबाट मुक्त गराउनका लागि राज्यले सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्दछ भन्ने आवाज हामीले उठाइरहेका छौं । र, त्यसैको ग्यारेन्टीका लागि अहिले हाम्रो सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासंघ अग्रणी मोर्चामा रहेर लडाइं लडिरहेको छ  ।

नेपालको सन्दर्भमा हेर्ने हो भने राज्य श्रममैत्री हुन सकिरहेको छैन । मजदुरहरूको अवस्था के-कस्तो छ ? कसरी कुन अवस्थामा मजदुरहरू काम गरिरहेका छन् ? काम गरेअनुसार उनीहरू सन्तुष्ट छन् या छैनन् ? भन्ने विषयमा अहिलेसम्म राज्यले सोचिरहेको छैन । रोजगारी विविध कारणले गुमेको अवस्थामा या रोजगारी नै नपाएको अवस्थामा पनि मानिस आफ्नो कर्तव्यबाट अथवा उसको पारिवारिक र सामाजिक दायित्वबाट टाढा हुन सक्दैन । यस्तो स्थितिमा जानेर/नजानेर मानिसहरू विकृति र विसंगतीतर्फ लाग्ने सम्भावना बढी हुन्छ । त्यसकारण राज्यले हरेक नागरिकको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । तर नेपालमा अहिलेसम्म यस्तो कुनै पनि प्रावधानहरू छैनन् ।

मुलुकमा विद्यमान रहेको सामन्तवादी उत्पादन प्रणालीले मानिसलाई सभ्य नागरिकका रूपमा भन्दा पनि ‘फुटाउ र शासन गर’ को नीति लिएको कारण समस्या समाधानतिर भन्दा पनि जटिलतातर्फ उन्मुख हुँदै गइरहेको छ । यो बेठीक छ भनेर हामीले सामाजिक संरचनामै आमूल परिवर्तनको कुरा उठाएका हौं । र, त्यो परिवर्तन काम गरी खाने सबै श्रमजीवीहरूले महसुस गर्न पाउनुपर्छ अर्थात् राज्यले उनीहरूको सामाजिक सुरक्षाको प्रत्याभूति गरिदिनुपर्छ भन्ने हाम्रो महासंघको ठहर हो । कुनै पनि मानिसले काम गर्ने उमेरमा रोजगारी पाएन वा पाएको रोजगारी पनि विविध कारणले गुम्न पुग्यो या असक्तताका कारण (उमेर हदका) रोजगारी छोड्नुपरेको स्थितिमा राज्यले उसको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ ।

अर्को, मजदुरहरूको स्वास्थ्यका विषयमा खास सुविधा राज्यले उपलब्ध गराउनुपर्दछ । जस्तो कि विमारीको प्रकृति कस्तो हो ? लामो समयसम्म उपचार गराउनुपर्ने हो या छोटै समय मात्रै हो ? या दुर्घटनाका कारण शरीरका कुनै अंग नचल्ने वा के-हो ? उसको जीवन बाँच्नका लागि राज्यले सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । त्यस्ता मजदुरहरूको आश्रति परिवारको लालनपालन, शिक्षा, स्वास्थ्यलगायतका विषयमा राज्य ग्यारेन्टी बस्नुपर्छ भन्ने अवधारणाहरू हामीले अगाडि सारेका छौं । यही क्रममा अहिले सामाजिक सुरक्षा ऐनको विषयमा छलफलहरू चलेको पनि छ ।

पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट रूपमा मजदुरको सामाजिक सुरक्षाका लागि अगाडि बढाएको स्पष्ट मार्गचित्रलाई कठपुतली सरकारको अर्थमन्त्री सुरेन्द्र पाण्डेले गत बजेटमा सामाजिक सुरक्षाको विषयलाई एउटा भेलका रूपमा सोलोडोलो विषयवस्तुहरूलाई अगाडि सारी दिएपछि श्रम क्षेत्रमा यसले नकारात्मक असर पारेको छ । खासगरी आफ्नो जीविका निर्वाहका लागिसमेत नपुग्ने ज्याला र तलवमा काम गर्ने हरेक श्रमजीवीसँग एक प्रतिशत कर समाजिक सुरक्षाका लागि भनेर उठाउने प्रस्ताव अर्थमन्त्रीले ल्याए । त्यो उनले मुलुकको अर्थव्यवस्थालाई सन्तुलित रूपमा अगाडि बढाउन नसक्ने देखिएपछि र १९० दैनिक ज्याला प्राप्त गर्ने मजदुरसंग समेत एक प्रतिशत कर लिने आदेश गरे । हरेक श्रमजीवीसँग सामाजिक सुरक्षाका नाममा कर उठाउने र हतियार खरिद गर्ने नीति लिए । मजदुरले आफूले तिरेको करबाट सामाजिक सुरक्षा प्राप्त हुने सङ्केत नदेखिएपछि हामीले त्यस्तो कर किन तिर्ने ? आम मजदुरहरूले भन्न थाले र हामी सरकारको मजदुर विरोधी नीतिको विरुद्धमा आन्दोलनमा उत्रियौं, त्यसबाट सरकार हामीसँग छलफल गर्न बाध्य भयो ।

छलफलपश्चात् सामाजिक सुरक्षा कोषलाई कसरी व्यवस्थित गर्ने ? कार्याविधि कसरी तयार गर्ने ? भन्ने कुरा टुङ्ग्याउने र ऐन बनाएर कार्यान्वयन गर्ने भन्ने कुरा भएको थियो । खासगरी छलफलमा पुस महिनाभित्र सामाजिक सुरक्षा कोष निर्माणको विषयलाई लिएर वृहत् सम्मेलन गर्ने, मुख्यतः तीनवटा विषय स्वास्थ्य, असक्तता र बेरोजगारी बिमालाई त्यसमा पहिलो चरणमा समेट्न भनेर हामीले छलफल अगाडि बढायौं ।

तर कस्तो भयो भने गएको साउन महिनादेखि मजदुरहरूसँग कर उठाउने तर त्यसको ऐन/नियमहरू निर्माण नहुने र जम्मा भएको रकम अन्यत्र खर्च गर्ने स्थिति जुन देखापर्‍यो, यसले मजदुरहरूको सामाजिक सुरक्षाको विषयलाई नै नकारात्मक प्रभाव पार्न वर्तमान कठपुतली सरकार लागिरहेको पुष्टि भयो । यसैमा हाम्रो आपत्ति हो । पहिला मजदुरको सामाजिक सुरक्षा कोष ऐन नियम बन्नुपर्यो । दोस्रो, सामाजिक सुरक्षा कोषको संरचना बन्नुपर्‍यो । तेस्रो, सबैखाले (सङ्गठित र असङ्गठित क्षेत्रका) मजदुरहरूको तथ्याङ्क लिई कोषको परिचय-पत्र वितरण गर्नुपर्‍यो अनिमात्र कोषका लागि कर सङ्कलन गर्नुपर्छ । हामीले यही भनेका हौं । तर सरकार ठीक उल्टो चल्दैछ ।

नेपालमा अहिले कुल श्रम क्षेत्रमा एक करोड १७ लाख ७९ हजार श्रमिकहरू काम गरिरहेका छन् । त्यसमध्ये १९ लाख ९१ हजार तलवी मजदुर/कर्मचारीहरू छन् भने ९७ लाख ८६ हजार स्वरोजगार मजदुरहरू काम गरिरहेका छन् । सामाजिक सुरक्षा अवधारणाले यी सबै मजदुरहरूलाई समेटिनुपर्छ भन्ने हाम्रो माग हो । यसका लागि निर्माण गरिने कोषमा श्रमिक, रोजगारदाता र सरकारको क्रमशः १, २.५ र २.५ प्रतिशत लगानी हुनुपर्ने विषय छलफलमा आएका छन् । यसो हुँदा कोषको ‘भोलुम’ सानो हुन्छ कि ? र सँगसँगै सामाजिक सुरक्षा कोषमा सबै विषयवस्तुहरूलाई हामीले क्रमशः समेट्ने, त्यसमा लगानी बढाउनुपर्ने हुन्छ । यसो गर्दा श्रम क्षेत्रका केही समस्याहरू पनि समाधान हुने देखिन्छ ।

तर विगतमा मजदुरलाई झुक्याउने र भ्रम पार्ने जुन खेलमा लागे, हाम्रो ट्रेड युनियन र हाम्रो पार्टी त्यसको पक्षमा छैन । हामी जे कुरा गरिरहेका छौं, त्यो कुरा परिणाममा आउनुपर्छ भन्ने मान्यता राख्छौं । त्यसकारण वास्तविक टकराव पनि अहिले यसैमा देखिएको छ । यदि मजदुरहरूलाई उनीहरूको आफ्नो भविष्यका बारेमा सुनिश्चित गराइदिने हो भने यहाँ औद्योगिक शान्तिका लागि अन्यत्र गएर घण्टी बजाइ रहनुपर्दैन । मुख्य कुरा हिजोको मानसिकताबाट ग्रसित भएका मालिकहरू खासगरी दलाल पुँजीपतिहरूको मानसिकता बोकेकाहरू नेपालमा सस्ता मजदुरहरू छन्, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने खालको प्रवृत्ति छ । यही टे्रनका कारण मजदुर र रोजगारदाताका बीचमा ठाउंठाउंमा विवाद परिरहेको छ ।

श्रम क्षेत्रमा देखिएका यस्ता विवादहरूको टुङ्गो (अन्त्य गर्ने) लगाउने र लगानी मैत्री वातावरण सिर्जना गर्ने, व्यवसायीहरू राष्ट्रिय पुँजीपतिका रूपमा रूपान्तरण हुने र उनीहरूले मुलुकलाई स्वाधीन अर्थतन्त्रको बाटोतिर अगाडि बढाउने सोच राख्ने हो भने वास्तवमा सामाजिक सुरक्षाले समग्र श्रमबजारलाई सकारात्मक प्रभाव पार्नुका साथै औद्योगिक शान्तिलाई मद्दत पुर्‍याउंछ ।

 
१ टिप्पणी

Posted by on फ्रेवुअरी 7, 2010 in Analysis, BLOG

 

One response to “सामाजिक सुरक्षा – बहस र विवाद

  1. lamichhane ba

    फ्रेवुअरी 7, 2010 at 2:54 बेलुका

    shram le matrai samajik suraksha nirdharan garne ho ra comred?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: