RSS

शिक्षा नीति : जनकेन्द्रित कि धनकेन्द्रित ?

23 Feb

– गणेश आचार्य

नेपालका युवा कम्युनिस्टहरु भन्छन्- शिक्षामा आमूल सुधार हुनुपर्छ । जनवादी र वैज्ञानिक शिक्षा प्रणाली लागू गर्नुपर्छ । थोत्रो परम्परागत सामन्ती शिक्षा अब बेकार छ । तर यो भनाइको तात्पर्य के ? जनवादी शिक्षा भनेको कुन चरीको नाम हो ? यो प्रश्नले सर्वसाधारण जनताको मात्र होइन, तिनका निरीह विद्यार्थी छोराछोरीको मन रिंगाउन थालेको पाइन्छ । कारण, ६० प्रतिशत जनमत बटुलेका कम्युनिस्ट पार्टीका ‘माउ’ नेताहरुले ‘जनवादी’ शिक्षाका सपना साकार पार्ने आशामा तुषारापात हुँदै गएको छ । यो गम्भीर र विडम्बनापूर्ण सवाल हो । २००४ मा भर्खर कम्युनिस्ट पार्टी जन्मँदै थियो । चार जनाले कलकत्तामा खोलेको यस पार्टीको मूल्य, मान्यता, आदर्श, नीति र सिद्धान्तहरु शिक्षाको क्षेत्रमा कति अंश लागू भए या हुँदैछन् ? यो आजको यक्ष प्रश्न हो । तमाम विद्यार्थीहरुले कम्युनिस्ट पार्टी सत्तामा गएपछि यसको मूल्यांकन र अनुगमन गर्नु स्वाभाविक छ ।

२०५१ मा ठूलो पार्टीको हैसियतमा नेकपा (एमाले) ले नौ महिना एकमना सरकार चलायो । वामपन्थी विद्वान नेता तथा साहित्यकार मोदनाथ प्रश्रित शिक्षामन्त्री बने । अर्कोपटक राप्रपा नेता लोकेन्द्रबहादुर चन्दसँगको गठबन्धन सरकारमा सामेल हुँदा राजावादी लाइनमा पुगेका शिक्षक नेता देवीप्रसाद ओझा एमालेकै तर्फबाट शिक्षामन्त्री बन्न पुगे । त्यसपछि भने कोही पनि ‘शुद्ध’ कम्युनिस्टले शिक्षा मन्त्रालयको नेतृत्व हाँकेको इतिहास पाइँदैन । यी दुई कार्यकाल बाहेक बाँकी समय नेपाली कांग्रेस र अन्य साना दलको कोटामा शिक्षा मन्त्रालयको बागडोर परेको तथ्य घाम झैं छर्लंग छ । लेख्नलायक यो छ कि यसबीचमा स्वर्गीय मनमोहन अधिकारी नौ महिना र आमूल क्रान्तिकारी भनिने एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठ महिना प्रधानमन्त्री बनिसकेका छन् । र, एमालेकै पूर्वमहासचिव माधवकुमार नेपालले प्रधानमन्त्रीका रुपमा आठ महिनादेखि सत्ताको बागडोर सम्हालिरहेको अवस्था विद्यमान छ ।

तर शिक्षामा जनवादीकरण खै ? आमूल सुधारको पक्षमा वामपन्थी विद्यार्थी संगठनहरुले जतिसुकै चर्को नारा लगाए पनि सत्तामा पुगेपछि तिनका मातृ पार्टीबाट उल्टो सास्ती खेप्नुपरेको तीतो सत्य हाल आएर पुनः उद्घाटित भएको छ । हाल त्रिभुवन विश्वविद्यालयले एकोहोरो रुपमा शुल्क वृद्धि गर्नु र त्यसविरुद्ध वाम-विद्यार्थी संगठन मात्र होइन, पुँजीवादी मार्काका नेविसंघ लगायतका संगठन समेत आन्दोलनमा उत्रिनु यसैको एउटा ज्वलन्त उदाहरण हो । शुल्क वृद्धि गर्नुका पछाडि त्रिविविका आफ्नै कथा-व्यथा होलान् । तर, पनि यसलाई जनवादी शिक्षाको आर्थिक पाटोमाथि झापड हानिएको भन्नुपर्छ, जसले जनताकेन्द्रित शिक्षाको उपहास गरेको छ । जनवादीकरण भन्नाले शिक्षा सर्वसुलभ, गुणस्तरीय, वैज्ञानिक, व्यावहारिक, जीवनोपयोगी, सीपमूलक र व्यवसायिक हुनु भन्ने बुझिन्छ । शिक्षामा समान पहुँच त्यसको अर्को कडी हो ।

यी सबै मापदण्डहरु नेपाली धर्तीमा कुहिराको काग झैं विलुप भएको देख्नु वाम-विद्यार्थीका लागि पीडादायी विषय बनेको छ । अनेरास्वविय (क्रान्तिकारी), अनेरास्ववियू र अन्य वाम-विद्यार्थी संगठन नै जनवादी शिक्षाको दिशा प्रक्षेपण गर्ने वर्तमानका गतिला क्षेप्यास्त्र हुन् भन्दा फरक नपर्ला । तर, ‘डाडुपन्युँले खाना नपस्किएपछि हनमेनोको के काम’ भने झैं अवस्थामा विद्यार्थी संगठनलाई पुर्‍याइएको महशुस हुन्छ ।

एकातिर शिक्षामा धनी र गरीबका बीच ठूलो खाडल पैदा गरिएको छ । फरक-फरक गुणस्तर प्रदान गरिन्छ । सरकारी शिक्षण संस्थाहरु प्रमाणपत्रधारी बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । निजी क्षेत्रको शिक्षा आर्थिकरुपले अभिभावक रुवाउने, निरस अखडा सावित हुँदै गएको प्रष्ट छ । यो स्थिति र प्रवृत्ति रोक्न प्रभावकारी पहल कसैले गरेको देखिँदैन । निजीकरणको नाममा तँभन्दा म कम भने झैं केही वामपन्थी पार्टीसम्बद्ध समूहहरु पनि जनकेन्द्रित होइन, धनकेन्द्रित शिक्षातर्फ धकेलिएको पाइन्छ ।

त्यसैले जनशिक्षा लागू गर्नका निम्ति अब अपनाउनुपर्ने अपरिहार्य विधि हो-सत्तामा रहँदा जनवादी शिक्षानीति कार्यान्वयन गर्नु र सत्तामा नरहँदा दबाबमूलक कार्यक्रम सञ्चालन गर्नु । तब मात्र वाम-दलको नेतृत्वसँग युवावर्गले विश्वास गर्ने दिन आउँछ ।

http://www.lalrakshak.com

 
१ टिप्पणी

Posted by on फ्रेवुअरी 23, 2010 in BLOG

 

One response to “शिक्षा नीति : जनकेन्द्रित कि धनकेन्द्रित ?

  1. umesh k

    फ्रेवुअरी 24, 2010 at 3:55 बिहान

    good !

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: