RSS

शव्दचित्रमा : गोरखाको गुरुङ पदमार्ग

21 Aug

-विनोद ढकाल, रेडियो गोरखा

प्राकृतिक श्रोत र सम्पदाहरूको धनी एतिहासीक जिल्ला गोरखामा अधिकांश गुरुङ समुदायको मात्र वसोवास रहेको पांचखुवा देउराली, स्वांरा, सौरपानी, लापु, गुम्दा, लाप्राक र वारपाक गाविसलाइ समेट्ने गरि सातदिने पदयात्रावाट गुरुङ समुदायको फरक फरक संस्कृति भेषभुषा, रहनसहन र खानपानको स्वाद लिन तथा यसलाई गुरुङ पदमार्गको रुपमा चिनाउन सकिन्छ ।

पहिलो दिन :-

सदरमुकामबाट विहान ८ वजे आरुघाट जाने वसमा दुइघण्टामा मसेल गाविसको घ्याम्पेशाल पुगिन्छ । घ्याम्पेशालमा विहानको खाना खाएपछि बायापट्टिको बाटोबाट पदयात्रा शुरु हुन्छ । त्यहांबाट अगाडी जाने मोटरबाटो भएपनि सांघुरो भएकाले पदयात्रा घ्याम्पेशालबाट नै शुरु गर्दा उपयुक्त हुन्छ । दुइ घण्टा हिडेपछि पांचखुवा देउराली  गाविसमा पुगिन्छ । दुइचारवटा किराना पसल, औषधी पसल छन् । केही पसलमा सामान्य चिया खाजा पनि खान पाइन्छ । चिया खाएर २० मिनेट उकालो हिडेपछि पांचखुवा देउरालीकै मुलावारी भन्ने ठाउंको गुरुङ वस्तीमा पुगिन्छ । १५ सय मिटर अग्लो डांडामा गाउंका महिलाहरुले सामुदायिक भवन बनाएका छन्, त्यहां मण्डली महिला समूहका गुरुङ्सेनी आमा दिदीबहिनीहरुले फुलमालाले स्वागत गर्छन् । त्यसपछि चिया पनि टक्र्याउंछन्, तुरुन्तै गुरुङ पोशाकमा सजिएकी महिलाहरुले नाचगान र दोहोरी खेल्छन् । खानामा गुन्द्रुकको परिकार कहिल्यै छुटाउंदैनन् । गीत नाच हेर्दाहेर्दै समय वितेको पत्तो हुदैन । पहिलो दिनको वास त्यहीं हुन्छ ।

दोश्रो दिन :-

विहान चियानास्ता गरेर १५ मिनेट हिडेपछि पांचखुवा देउरालीकै ग्यांजीको तामाखानी पुगिन्छ । पहाडको टाकुरोबाट पुछारमा तामाको खानी देखिन्छ । खानीकै छेउवाट तामाजस्तो पहेंलो पानी बगिरहेको छ । त्यहांका वासिन्दाले पुरानो प्रविधिबाट तामा गालेर गाग्री समेत बनाएका छन् । लालीगुरांसको जंगलै जंगल ३० मिनेट हिडेपछि स्वांरा गाविसको रुपाकोट र सुलिकोट नजिक पुगिन्छ । दाहिनेतिर रुपाकोट देव्रेतिर सुलीकोट । ती डांडाहरु घले राजाले शत्रुमाथि आक्रमण गर्न र युद्धकला सिक्न प्रयोगमा ल्याएको स्थानीयको कथन छ । त्यहांबाट २०/२५ मिनेट तेर्सो हिंडेपछि अगाडि वजेनी ताल छ । जहां घले राजाहरुले पानी पिउने र नुहाउने गरेको जनश्रुति पाइन्छ ।

दुइघण्टाको हिंडाइपछि स्वांरा गाविसकै वडा नंबर २ मा पर्ने सीता गुफा आइपुग्छ । गुफाको आकार कति ठुलो छ भन्ने बारे स्थानीयले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । भित्र एक घण्टा ३० मिनेटसम्म हिड्दा पनि अन्तिम विन्दु फेला पार्न नसकेपछि डराएर बाहिर निस्केको स्थानीय बताउंछन् । गुफाको कथा राम र सीतासंग पनि जोडिएको छ । पहिले रामले सीतालाई लखेट्दा सीता भाग्दै अहिलेको सीता गुफामा लुकेको भनाइ रहिआएको छ ।

सीता गुफाको अवलोकनसंगै विहानको खाना खाने बेला हुन्छ । शहरदेखि निकै टाढाको गाउं भएकाले त्यहांको स्वाद नै बेग्लै हुन्छ । नुन र प्याजबाहेक सबैथोक गाउंकै । १ घण्टा ३० मिनेट उकालो चढेपछि खारचोक भञ्ज्याङमा पुगिन्छ । चिया नास्ताको लागि सानातिना पसलहरु छन् । त्यहांदेखि अगाडि पसल भेटिदैन केही सामान सकिएको छ भने किनिहाल्नु उपयुक्त हुन्छ ।

खारचोक भञ्ज्याङबाट १ घण्टा ४५ मिनेट उकालो हिडेपछि स्वांरा-८ को ठोट्नेरी गाउंमा पुगिन्छ । १६०० मिटर उचाइको यो गाउं त गुरुङ संग्रहालय नै हो । झण्डै दुइसय घर गुरुङहरुको वसोवास रहेको यो गाउंमा मारुनी, चुट्का, घांटु, लाहुरे नाच लगायतका नाचहरु देख्न सकिन्छ । भेषभुषा पनि थरिथरिका, त्यहां प्राक सतीघाटु नाच्छन्, सानादेखि ठुला सबै गायन कलामा खप्पिस छन् । युवायुवतीको संस्कृतीप्रतिको लगावले त्यहाँको संस्कृति जगेर्नामा महत्वपुर्ण् भुमिका खेलेको छ । गाउंमा सिस्नो धेरै पाइन्छ, त्यसैले खानामा मकैको ढिंडो र सिस्नो लोकप्रीय छ । सुत्नवस्नको लागि होटलको ब्यवस्था छैन, गाउंलेकै घरमा पाहुना भै वस्न पाइन्छ ।

तेश्रो दिन :-

विदा हुने बेला स्थानीयले माया गरेर मकै भटमास र गुन्दु्रकको अचार पठाउंछन् त्यसलाई लिएन भने माथि जंगलमा भोक लाग्छ । लसुन पिंधेर पनि लैजानुपर्छ लेक लाग्न सक्छ । ठोट्नेरीबाट माथि गएपछि एक दिन जंगलमा नै बस्नुपर्छ । कम्तीमा तीनछाक खानेकुरा साथमा नै राख्नुपर्छ । बाटोमा केही गाइगोठ र खर्कहरु मात्र भेटिन्छन् । १ घण्टा ३० मिनेटको बाटोमा पर्ने गार्इखर्कसम्म पानीको सुविधा छ । त्यसैले चाहिने जति पानी त्यही भर्नुपर्छ । विहानको खाना खाने बेलामा न्याउली खर्कमा पुगिन्छ ।  न्याउलीखर्कमा पुगेपछि आफुले लगेको खानेकुरा खाएर वाटो तताउनुपर्छ ।

न्याउलीखर्कबाट ३ घण्टा उकालो हिडेपछि पदमार्गको केन्द्रविन्दु ३ हजार २ सय ४५ मिटर उचाइको धार्चे डांडामा पुगिन्छ । यो डांडालाई गोरखाको स्वांरा, सौरपानी, वारपाक, लाप्राक, गुम्दा, लापु, थुमी, आरुआर्बाङ् गाविसको संगमस्थल भनिन्छ । मनासलु, अन्नपुर्ण्, हिउंचुली, लाङटाङ, माछापुच्छ्रे, गणेश, श्रृङ्गी, कंगारु, लमजुङ, लार्केपीक, बुद्ध, पुतली, रुपीनाला, लगायतका दर्जनभन्दा बढी हिमाल देख्न सकिने भएकाले यो डांडाको महत्व निकै छ । उत्तरमा हिमाल देखिने त्यस डांडाबाट दक्षिणतिर भने गोरखा, धादिङ, तनहुं, र चितवनका अधिकांश भुभाग देख्न सकिन्छ ।

प्रायः त्यस क्षेत्रमा दैनिक रुपमा मौसम बदलिइरहने हुंदा हिंउ परिहाल्छ । त्यसैले जुनसुकै मौसममा जांदा पनि हिउं खेल्न पाइने संभावना हुन्छ । धार्चेडांडा वरपर धेरै ठुलो स्वरमा चिच्याएमा एकैछिनमा हिउंपर्ने र भवितब्य हुने जनविश्वासले सो क्षेत्रमा प्रायः शान्त रहनुपर्ने प्रावधान छ । धार्चेडांडामुनी सौरपानीका रामप्रसाद पनेरुले बनाएको ५० वर्षन्दा पुरानो पाटी छ । त्यसमा तेश्रो रात त्यही बस्नुपर्छ । खानेकुरामा ठोट्नेरीबाट लिएको मकै र गुन्द्रुकको अचार काम लाग्न सक्छ । हिउं परेमा लेक लाग्ने सम्भावना रहन्छ । स्थानीय उपचार लसुन र नुनले गर्छ भने त्यसका लागि औषधी पनि बोक्नुपर्छ । नजिकको वस्ती लापु वा गुम्दा पुग्न तीनदेखि चार घण्टा लाग्ने हुनाले धार्चे डांडामा नै क्याम्पिङ गर्नु राम्रो हुन्छ ।

चौथो दिन :-

चौथो दिन विहानै लालीगुरांस फुलेका पाखाहरु हेर्दै ओरालो लागेपछि वास वस्ने बेलामा लापु गाविसको माझगाउंमा पुगिन्छ । देख्दा नजिकै देखेपनि पहाडलाई फनक्कै फन्को मार्दा समय वितेको पत्तो हुंदैन । धार्चेबाट लापु जाने बाटोमा थरिथरिका वोटविरुवा, वनस्पति, जीवजन्तु, जडिबुटी, गुरांस आदि फूलहरु देखिन्छ । लापु पुग्नुअघि पाङखर्क भन्ने ठाउंमा विहानको खाना खाने वेलामा पुगिन्छ । मानिसको वस्ती नभेटिने ती ठाउंमा खाना खाने होटल र लजको ब्यवस्था हुन त वर्षौ लाग्न सक्छ । खाना खाएर दुइघण्टा हिंडेपछि वेलुका लापु गाउंमा पुगिन्छ र फेरी शुरु हुन्छ परम्परागत नृत्य र संस्कृति प्रदर्शनी । तीन सय ५० घर गुरुङहरुको वसोवास रहेको सो गाउंमा स्वांराको ठोट्नेरीमा हेरेभन्दा भिन्न किसिमको मारुनी र घांटु देख्न पाइन्छ । लापुमा देखाइने घांटुमा १२ वर्षन्दा कम उमेरका किशोरीहरुमात्र नाच्न मिल्ने चलन छ भने अन्य ठाउंमा उमेरको हद देखिदैन । परम्परागत राजा रानीको कहानीमा नाचिने घांटु बुझ्नलाई निकै कठिन भएपनि बुझेपछि निकै आनन्द आउंछ । त्यसदिन घांटु र मारुनी हेर्दै लापु गाउंमा गाउंलेको घरमा वास वस्नुपर्छ ।

पांचौ दिन :-

लापुबाट पांचौ दिन बिहान हलोगुफा, भिरकोट आदिको अवलोकन गरी खाना खान सामान्य उकालो ओह्रालो हिडेपछि गुम्दा पुगिन्छ । हलो गुफा भन्ने ठाउंमा लामाहरुलाई प्रकृतिले साथ नदिएकाले उनीहरु भागेको भन्ने जनश्रुति पाइन्छ । त्यहां एउटा डरलाग्दो भीरमा एउटा हलो नाटकीय ढंगमा झुण्डिरहेको छ ।

लापुबाट चार घण्टामा मनमोहक गुम्दा गाउंमा पुगिन्छ । गुम्दा गाउंमा पुगेपछि खाना र आवासका लागि सेन्टर होटल एण्ड लज छ । काठले छाएका घरहरुमात्र रहेको यो गाउंलाई सरकारले पर्यटकीय नमुना गाउं बनाउन ५० लाख रुपियां खर्च गरेको छ । वाटोहरु ढुङ्गा विच्छ्याइएको छ, ठाउंठाउंमा सूचना पाटि, नमुनाघर बनाइएका छन् । यो गाउंमा २ सय वर्षन्दा पुरानो गुरुङहरुको छ्योर्तेन छ । ग्रामीण पर्यटनको लागि यो गाउं निकै रमाइलो छ । गुम्दाबाट तीनघण्टा तेर्सो र केही उकालो हिडेर पांचौ रात वास वस्न लाप्राक पुगिन्छ ।

छैठौ दिन :-

लाप्राकमा गुरुङ संस्कृतिको विचित्र अवस्था छ । सातदिने पदयात्रामध्ये एउटै समुदायमा धेरै विशेषता भेटिने गाउं यहि नै हो । लाप्राक सिङ्गो गाविस नै पांचसय धुरीको एउटै गाउं हो । गुरुङ र विश्वकर्माहरुको वसोवास रहेको यहां घांटु, मारुनी, चुट्का, मकै विवाह, अर्गुन (मृत्यु संस्कार), घ्यार्मो, तुक्लुङ, झांक्री लगायतका नाचहरु देखाइन्छ । वास वस्नका लागि होटलहरुको ब्यवस्था छैन । गाउंलेहरुले नै माया गरेर घरमा पाहुना झैं राख्छन् । प्रशस्त आलु पाइने यो गाउंमा धेरैजसो परिकार आलुकै हुन्छ । उसिनेको आलु खाने प्रचलन बढी छ ।

गाउंदेखि माथिका डांडाहरुमा छपक्कै गुरांस फुल्छन् । गाउंमा लघु जलविद्युत आयोजनाबाट विद्युतको ब्यवस्था पनि गरिएको छ । क्यामेरा र मोवाइल चार्ज गरिहाल्नु राम्रो हुन्छ । लाप्राकमा चर्चित एउटा पहिरो छ । स्थानीयलाई निकै दुख दिएको यो पहिरो केही वर्षेखि यो बग्न छाडेको छ । पहिरोमाथि हरियाली थपिदैछ र अहिले पर्यटकीय ठाउं बनेको छ ।

विहानको खाना खाएर अर्को सुन्दर गाउं वारपाकको लागि उकालो लाग्नुपर्छ । दुइ घण्टाको उकालो पछि पुसु डांडामा पुगिन्छ । यो डांडालाई गुरांसे बगैंचा भनिन्छ । राता र सेता गुरांसले ढकमक्क ढाकेको यो डांडामा पुगेर विश्राम लिने र फोटो खिच्ने गरिन्छ । पानीको सुविधा छैन । लाप्राक गाउंबाट ल्याईएको उसिनेको आलु र पानी काम लाग्नसक्छ । पर्यटकीय पदमार्ग विकासका लागि यहां केही चिया खाजा पसल राख्नु उपयुक्त हुन्छ । पुसुडांडाबाट सांढे दुइ घण्टा ओह्रालो हिंडेपछि वारपाक गाउं पुगिन्छ । वारपाक आएपछि यात्राभरि लागेको थकाइ सबै मेटिएको अनुभुति हुन्छ । यो गाउं निकै सफा, घरहरु पनि एकै नासका ढुङ्गाले छाएका, गल्लीहरु फराकिला र ढुङ्गा छापिएका, वेलायती सेनामा भिक्टोरिया क्रस पाएका गजे घलेको गाउं हो । वारपाकमा गजेघलेको इतिहास पनि भेटिन्छ । उनको पुरानो घर पनि छ त्यहां ।

वारपाक रुपीनाला, नारदपोखरी, वौद्ध हिमाल, लगायतका क्षेत्रमा जाने मुख्य बाटो हो । सो क्षेत्रमा जाने पर्यटकहरु एकदिन वारपाक वसेर थकाइ मारेर जाने गर्छन । ३० घरमा गाउंलेकै प्रयासमा होम स्टेको ब्यवस्था छ । ती घरहरुमा पर्यटकका लागि दुइवटा कोठा, शौचालय, पानीको ब्यवस्था छ । गहुं र आलुको परिकारको साथमा गोलभेंडाको अचार यहांको मौलिकता हो । अन्य चिज खानुपरे सदरमुकाम वा अन्य बजारबाट किनेर लैजानुपर्छ । सांझमा स्थानीयले मारुनी, ठाडोभाका झांक्री नाच आदि देखांउछन् । वारपाकको मारुनी नाच अन्य ठाउंको भन्दा निकै उत्कृष्ट भएको उनीहरुको दावी छ । यहां रातभरि मारुनी गाउने प्रचलन छ । साउने संक्रान्तिदेखि माघेसंक्रान्ति वीचमा मात्र मारुनी नृत्य देखाइन्छ, अरु समयमा पाइदैन ।

सातौ दिन :-

पदयात्राको अन्तिम दिन वारपाकमा विहान गहुंको केक र कालोचियाको ब्रेकफाष्ट गरेपछि सदरमुकामतिर बाटो तताउनुपर्छ । वारपाकमा सडक पुगेको छ । साना सवारीहरु फाट्टफुट्ट चल्छन् । ठुला सवारीहरु प्रायः जान सक्दैनन् । नियमित चल्ने सवारी छैन । स्थानीय ब्यापारीले मालसामान ढुवाली गर्न जीप लगेको वेला परे चढेर फर्कन पाइन्छ । वारपाकबाट तीन घण्टा ओरालो हिंडेपछि राङरुङ खोलाको किनारमा आइपुगिन्छ । त्यहां माछाको परिकारसंगै खाना खानु उपयुक्त हुन्छ । खाना आएपछि यात्रुवाहक वस चढेर सांझ काठमाडौ, पोखरा वा गोरखा सदरमुकाम पुग्न सकिन्छ ।

यो पदयात्रा मार्ग पर्यटकका लागि नयां गन्तब्य हो । कतिपय पुर्वाधारहरु विकास हुन बांकी नै छ ठाउंठाउंमा पानीको धारा र क्याम्पिङ गर्ने ठाउंहरु पनि निर्माण गर्नुपर्ने देखिन्छ । दोवाटोहरुमा डेष्टिनेशन डाइरेक्शन मार्करहरु राख्नुपर्ने अवस्था छ भने चियानास्ता गर्ने ठाउंहरु पनि अझै थप्नुपर्छ । सबै ठाउंमा पर्यटकलाई स्वागत गर्ने परम्परा छ, तर गाउंघरको सरसफाइमा पनि संगसंगै जोड दिनुपर्ने आवश्यकता छ ।

के के लैजाने ?

न्यानो लुगाहरु, पैदल यात्राका लागि सजिलो खालका कपडा र जुत्ता, लेक लाग्न नदिनका लागि पिंधेको लसुन वा नुनिलो खानेकुरा, केही ड्राइफुडहरु साथै चिसोको औषधी ।

पाइने कोशेली :-

गहुंको केक, भेडाको ऊनबाट बनेको राडी, पाखी, गलैंचा, आदि ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 21, 2010 in BLOG, SPECIAL

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: