RSS

साहित्य

नववर्ष तिमीलाई स्वागत छ

उदासी यो मनमा सधैं उत्साहको विउ रोपिदिने नववर्ष तिमीलाई स्वागत छ

तिम्रो हरेक आगमन साथ साथ मेरो विदिर्ण मनमा

चाहनाका अनगिन्ति पोकाहरु पुनर्जिवन पाउने आशा गर्दछन् ।

सधैंका वर्षहरुमा झैं तिमी वसन्तका पालुवा लिएर आउंदा

विक्षिप्त भई टोलाएको मेरो जिर्ण शरिरमा पनि

उमंग र स्फुर्तिका टुसाहरु पलाएर आउदछन् ;

निराश मेरो जिवनमा आशाको ज्योति जलाईदिने

नववर्ष तिमीलाई स्वागत छ ।

प्रत्येक वर्ष तिम्रो आगमनसंगै घटिरहेको आफ्नो आयुप्रति अफशोच छैन,

भित्र भित्रै सल्केको वेदनाको मन्दाग्निमा वर्षातको शितलता भरिदिने

तिम्रो उपस्थितिमा, मेरा पिडाहरुले केहि शान्तिको अनुभुति गर्दछन् ;

अनिश्चित जिन्दगीको संघर्षमय यात्रामा निरन्तर साथ दिने

नववर्ष तिमीलाई स्वागत छ ।

आशुका घुंट्काहरु पिउदै जिन्दगीको उकाली ओराली गर्दा

दुःखसंग लड्ने साहस भरिदिने ,

वेसहारा भई लरखराएको वेला सहारा वनि आईदिने

तृषित यौवनमा पतझडले छाएको वेला

उत्साहका थुंगाहरु वोकी ल्याईदिने

नववर्ष तिमीलाई स्वागत छ ।


दशैं

eskhalitsaavan@gmail.com

विगतका वर्षहरुमा झैं यसपालि पनि दशैं आयो

जंगलका खोल्सा गल्छेडाहरुवाट;

गाउंका पाखा – पखेराहरुवाट

शहरका गल्ली – सडकहरुवाट ।

वेदनामा डुवेको हतश्री चेहेरामा

क्षणिक हांसो हांस्न विवश हर्के;

वर्षदिनमा एकपेट मासु र भातसंगै

घरवारीमा किला ठोक्न विवश छ ।

सांघुरा गोरेटाहरुमा वर्षभरि भारी वोक्दा

फाटेका पैताला र विट गएको टोपीलाई

एक पटक विर्सेर थकान मेट्ने विर्खे;

घरवारी वन्धक राख्न वाध्य छ ।

गरीवहरुको सम्पत्तिमाथी धनीहरुले विजय गर्ने

विजयादशमीले एकवर्षको लागी विदा त लियो  तर

मुटुभित्रको धांजालाई च्यातिएको दौराले ढाकेर

डोको र नाम्लोसाथ जिउने हर्के र विर्खेको दशा भने

अरु वढि गाढा रंगमा चम्किन थाल्यो ।

संधैभरि हर्के र विर्खेहरुका पसिनामा उग्राएर वस्ने

ठुले साहुलाई भने दिनमा पनि दशैं, रातमा पनि दशैं नै

यसपाली पनि उसले राम्रै दशैं मनायो;

निरीह जनताको रगत र पसिनामा ।।

+++++++++++++++++++++++++++++++++++++++++++++++++++

कविता : खाते

eskhalitsavan@gmail.com

खाते हुं म खाते, केहि छैन मेरो साथ,

जनताको सार्वभौम कानुनले “घुगुती” खेलाएर

वेस्सरी थेचारीदिएपछि

फेरि एकपल्ट ङिच्च परेको जिवन

डम्पिङ-सडकमा प्रजातन्त्र वटुल्दैछ,

खोजि हिड्दैछ मानव अधिकार ।

आफ्नै देशको “अनागरिक” म

मीठो एकछाक खानको लागी,

न्यानो एकरात काट्नको लागी,

निष्पन्द जिवन वांचिरहेको छु,

एक आङ झुत्रो पाउन नसक्दा

क्षितीजमाथी नयन टक्क अडाएर

भविश्यको गन्तव्य हेर्ने गर्दछु ।

स्वतन्त्र अधिकार विहीन खाते म –

“शान्ति सुरक्षा र अमन चैन”साथ

“नागरिक सर्वोच्चता”को अभ्यास गर्दैछु ।।

+++++++++++++++++++++++++++++++++++++++++++++++++++

आवाज

sammohan11@yahoo.com

एउटा अनौठो आवाज …. निरन्तर, …. अनवरत ।

जसको कुनै कारण छैन, त्यो कहिल्यै थाक्दैन ।

मेरो हृदयमा संधैभरि गुञ्जिरहने त्यो आवाज

तिम्रो मुस्कानहरूमा घोलेर राखुंजस्तो,

कुनै सुनौलो वुट्टेदार सामदानमा सजाएर राखुंजस्तो ।

के तिमी त्यो आवाज सुन्न चाहन्छौ ?

तिमीभित्र समाहीत हुने चाहनाले त्यो आवाज

तिम्रै प्रतिक्षा गरिरहेको छ ।

A strange sound- nonstop, continuously, frequently …

There’s no reason, it never tired.

The sound buzzing in my soul

I wanna blend it with your smile,

Decorate in a golden frame.

Wanna hear that sound?

That’s waiting only for you

Just hopes to get lost on you.

++++++++++++++++++++++++++++++++++++++++++++

घण्टिको स्वर

adbhya_03@yahoo.com

कल्पनाको सागरमा डुविरहेको वेला

टाढा धेरै टाढावाट एउटा स्वर

एक्कासी कानमा ठोक्किन्छ टङ ऽ ऽ ऽ टङ ऽ ऽ ऽ टङ ऽ ऽ ऽ ।

हृदयमा दवाएर राखेका पीडाहरू उर्लन थाल्छन् अनि

वर्षौंदेखी सांचेर राखेका आंशुहरू वग्दछन् भललललल ।

मैले मनलाइ संझाउन चाहिन, आंशुलाइ रोकिन,

आंशु वग्यो, वग्यो धेरै वग्यो तर म रोइन (?­)

वग्दा वग्दा यो आफै थाक्यो तर

मुटुभित्रको पीडा कत्ति हल्लिएन, उस्तै रह्यो ।

आंखा अगाडी एउटा आकृती घण्टी वजाइरहेको छ

म आंखा कान दुवै वन्द गर्छु वेस्सरी ,

उफ ! त्यो स्वर त झन् मनभित्रै जोडले गुञ्जिदिन्छ ।

पागल सरह म चिच्याउंछु नाइं इं इं इं ऽ ऽ ऽ

घण्टी नवजाइदेउ अव, विगत भुल्न देउ मलाइ

दौडंदै मन्दिरमा पुग्दछु, सुनसान छ मन्दिर ।

किलामा झुण्डिएर वन्द कोठाभित्रवाट

चियाइरहेको छ निर्दोष निष्छल घण्टी ।

म सोच्छु घण्टिको निर्जिवतामा कतै जिवन छ,

तर मेरो जिवनमा केवल निर्जीवता ….

मलाइ घण्टिको डाह लागेर आउंछ ।

कोहि अपरिचित आइ घण्टि हल्लाइदिन्छ,

घण्टिको स्वर सुनेर  पुनः मर्माहत हुन्छु म,

मेरो जिवनलाइ निर्जिव तुल्याउने स्वर त्यो ।

म पनि घण्टिसंगै चिच्याउन खोज्छु तर

मेरा स्वरहरू त वन्द भइसकेछन् ।

घण्टिको स्वर एकोहोरो गुञ्जंदैछ टङ ऽ ऽ ऽ …………..

मेरो सजिवताप्रतिको व्यंग्यात्मक स्वर त्यो

मेरो कानभित्र प्रतिध्वनि वनेर गुञ्जिरहेछ टङ ऽऽऽ टङ ऽऽऽ टङ ऽऽऽ  ………..

+++++++++++++++++++++++++++++++++++++++++++++++++++

पत्र तिमीलाइ …….

nic.mazakee@yahoo.com

तिमीलाइ म कसरि व्यक्त गरूं! यदि यस संसारमा केहि चिज मेरो हृदयलाइ छुने छ भने त्यो केवल तिमी र तिम्रा मधुर वाणीहरू नै हुन्। तिम्रा शव्दहरूले मात्रै मलाइ आनन्दित र प्रभावीत पार्दछन्। त्यसै आनन्दको वदलामा तिमीलाइ लाखौं-लाख चुम्वनहरू अर्पण गर्न चाहन्छु स्विकार ल ?

प्यारो विभाष !

तिमीलाइ आफ्नो सामु पाउंदा मलाइ यस्तो लाग्छ की म संसारका सुखी र सम्पन्न व्यक्तिहरूमध्ये एक हुं, र यस्तै अनुभुतिले मलाइ गौरवान्वित वनाउंदछ। मेरो मरूभुमीतुल्य सुख्खा र वांझो जिवनमा तिमी नै एउटा त्यस्तो छौ, जसको संझनाले नै मेरो मनको मरूभुमीमा चर्को धूपविच पनि शितलता प्रदान गर्दछ, शुन्यतामा रहेरपनि सुमधुर ध्वनि प्रवाह गर्न सक्छ, कोशौं टाढा रहेरपनि निकटताको आभाष दिन सक्छ। विशिष्टताको दायेराभन्दा वाहिर रहेरैपनि मेरो जिवन र हृदयलाइ छुन सक्नु तिम्रो विशेषता हो, महानता हो। यस महानतासंगै तिम्रो चित्र मेरो हृदयभित्र झनै एकाकार भइसकेको छ – सुन्दर फ्रेममा।

जव तिम्रो मुस्कान हावामा प्रष्फुटित हुन्छ, तव मेरो मनमा एउटै कल्पना खेल्न थाल्छ – “म कसरि तिम्रो प्रेमलाइ जित्न सक्छु?” युगौं युगदेखी नै तिमी केवल मेरै लागी भएको अनुभव गर्दछु। हरपल हरक्षणहरूमा म केवल-केवल तिम्रै हुन चाहन्छु र तिम्रै साथ पाउन चाहन्छु। मेरो अन्तर्मनले भन्छ – तिमीभित्र पनि यस्तै भावना जन्मियोस र तिमीलेपनि मैलेजस्तै सोचिदेउ, मेरो चोखो प्रेमलाइ रंगाइदेउ। के तिमीलाइ यस्तो केही अनुभुती भएको छ ?

bivash90@gmail.com

म हृदयको सत्यता चाहन्छु, जुन अन्तःकरणवाटै प्रष्फुटित होस। किनकी मैले जिवनमा धेरै तिता यथार्थहरू भोगें, अस्तित्वहीनताको संसारमा हराएर म फेरि पुनर्जिवीत हुंदैछु। यहां धेरै स्त्रीहरूले उत्तम कुरा गर्छन् तर तिमीले तिनीहरू सवैलाइ जितेकी छौ ।

++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

जन्मदिनको शुभकामना

bibash_alone@yahoo.com

समय

बामे सर्दैन

दुधे बालकको गतिमा

न त घस्रिन्छ

कछुवाको चालमा नै

यो त वायुपंखी घोडाको

वेगमा दौडने गर्छ

विभिन्न खतराहरुसंग जुध्दै

भिषण मोर्चा जित्न हिडेका

वीर योद्धाहरु झैं अधीर गतिमा ।

यदि समयसंगको स्पर्शलाई नै

जीवनको ठुलो लक्ष्य ठानेर

परिवर्तनको दिशामा बदल्ने

साहस गर्न सकिएन भने

समयको बदलावसंगै

आफै बदलिने भ्रममा

चैनको निद्रा सुतियो भने

समय सगरमाथाको चुली पुग्दा

बंगालको खाडी तिर नै

कावा खाइरहनेछ हाम्रो सगर छुने यात्रा ।

आकांक्षाका भारीहरु धेरै छन्,

गन्तव्यमा पुर्‍याउनु पर्ने

मनभरिका सपनाहरु अनगिन्ती छन्,

यथार्थमा बदल्नु पर्ने

तर समयको पावन्दी संगै

सवै सवै पुरा गर्नुपर्ने छ जिम्मेवारीहरु,

यदि आजको भोली

र भोलीको पर्सीलाई सांचियो भने

ती जिम्मेवारीहरु थुप्रिंदै गएर

बज्र बनेर बज्रिनेछ

आफ्नै शिर माथि ।

जति बेला सपना र आकांक्षाहरु

कुरी रहेका हुनेछन् गन्तव्य पुग्ने आशामा

तर त्यतिखेर

समय धेरै टाढा पुगिसकेको हुनेछ

कहिल्यै

अनि कहिल्यै फेरि नभेट्ने गरि ।

जिन्दगीको यात्रारत रथसंगै

निरन्तरतामा घटिरहेको छ

अंकित समयका सीमारेखाहरु,

त्यसै रफ्तारमा बढिरहेको छ

अपेक्षाकृत चाहना पंक्तीहरु

यदि जीवित अबधी

लम्बिएको खुसीको उन्मादमा

कर्तव्य र जिम्मेवारीलाई

खोकिलामा थन्काएर

अट्टाहास मात्र गर्ने हो भने

भलै अरुको लागि त सकिएन

आफ्नै लागि पनि केही गर्न

नसक्ने हो भने

आखिर के नै फरक भयो र ?

जिउनुमा अनि मर्नुमा

के नै अर्थ रह्यो र ?

विना उपलब्धीको जन्मदिन

मनाउनु अनि नमनाउनुमा ।

त्यसैले,

जिन्दगीका जिजिविषाहरुलाई

अमर र सदावहार बनाउन

समयको बहावसंगै हेलिन सक्नुपर्छ

चुनौतीका पत्रे चट्टानहरु छिचोल्दै

गन्तव्य चुम्न सक्नुपर्छ ।

यात्रारत जिवन समरमा

आँधीवेहरी र हिमपातहरु नाघ्दै

सगरमाथाको शिखरमाथि

सफलताको रातो झण्डा फहराउन

निरन्तर अघि बढिरहनु

कामना जन्मदिनको

शुभकामना जन्मदिनको ।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

युद्धको विभिषीका

eskhalitsaavan@gmail.com.

आंशु र हांसोको रणभुमि हो मेरो मन

पीडा लुकाएर विवशताको हाँसो हासिरहेको छ ।

म मा ईतीहासको मोह नभएको होईन, तैपनि –

विरालोको चालमा उद्घाटित सत्यलाई

भुस्याहा कुकुरहरुले खेदिरहेको वेला

म भित्रका आत्माभिमानहरु भने

जिन्दगीको खिल्लि उडाईरहेका थिए ।

म मा विद्रोहको चाह नभएको होईन, तैपनि –

चर्चर्ति चिरिएको मनको घाउलाई

नरभक्षी गिद्धहरुले लुछिरहेकोवेला

मेरा आफ्ना स्वाभिमानहरु भने

एक थोपा आँशु नझारी मौनधारण गरिरहेका थिए ।

तर, अव त अति भैसक्यो, सहनुले सीमा नाघ्यो

त्यसैले विश्वासको खडेरिमा जागरणको वर्षा गराउदै

अदम्य साहस वटुलेर मेरा पाईलाहरु

डांडापाखाहरुवाट चियाईरहने छाप्राहरुदेखि

सचेतनाको मशाल जुलुश निकाल्दैछन्,

संकटग्रष्त मनको आगो दन्केको वेला

ममताको खेल खेल्ने व्वाँसाहरुलाई धपाईछाड्नेछन् ।

++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

मुक्तिको उद्घोष

eskhalitsaavan@gmail.com.

अहिले म  काकाकुल झैं भएको छु ।

मेरो स्वतन्त्रताप्राप्तिको तिर्खा मेट्न नदिन

भरमग्दुर प्रयासरत सामन्ति र साम्राज्यवादी चलखेलहरु

एक पछि अर्को गर्दै नाङ्गो रुप धारण गरिरहेका छन् ,

म माथी निरन्तर आक्रमण गरिरहेका छन् ।

पुर्खाहरुले जोगाएर राखिदिएको विरताको गाथा र

मेरो स्वतन्त्रता खोसेदेखि ,

यिनिहरु मोटाएको मोटायै छन् ।

आफ्नो गुमेको अधिकार फिर्ता लिन मैले के गरिन ?

सातसालमा एकथरि सामन्तलाई पल्टाएपछि

स्वतन्त्रताको प्यास मेट्ने चाहना थियो, तर

मेरो साख्खै दाजु हुं भन्ने नाता लगाउदै प्रतिक्रियावादीहरुले

मलाई वन्धक वनाए,

पिंजडाभित्र थुनिएको थिएं, सांग्ला लगाएर रुखमा वांधिदिए ,

अनि तिनै पुराना सामन्तिलाई वुईमा वोकेर हिडे ।

मवाट टाढा पुगिसकेका तिनिहरुलाई

जव सामन्तिहरुले वुईवाट ओर्लेर मजाले घोडा चढे,

कोपरे, चिथोरे तव वल्ल तिनले चेते अनि फर्केर सहारा मागे ।

नत्र छत्तिस सालमा मैले सामन्तवादको जरो हल्लाएकै हो,

छयालीस सालमा मोटा मोटा हांगाहरु छिमलेकै हो ,

तिनिहरुले षडयन्त्र नगरेको भए

त्यो रुख म उहिल्यै उखेलिसक्ने थियं ,

अन्याय र शोषणको जञ्जिरवाट मुक्त भईसक्ने थियं ।

तर ममाथी घोर र भयानक षडयन्त्र रचियो,

छयालीस सालपछि त तिनिहरुले मेरो लिनु हुर्मत लिए

मलाई वांधिएको सांग्लो अलि लामो पारेर

गांउ गाउंमा जात्रा देखाए, चोक चोकमा भालु नचाए अनि

यो सव देखेर मनोरञ्जन लिने गांउलेहरुवाट पैसा उठाएर खाए,

यसरि मेरो ईज्जतको खुल्लेआम वलात्कार गरियो,

कौडिको भाउमा लिलामीको वोलपत्र आहृवान गरियो ।

यस्ता कुकृत्यहरु मैले निरन्तर सहिरहेकै हो, तर कति सहनु ?

०६२ / ६३ सालसम्म आईपुग्दा मेरो कन्पारो तातिसकेको थियो,

वल  गरेर त्यो रुखलाई ढालें, तर

त्यहि रुखको छहारिमा वसेर मलाई नचाउनेहरु र

नाच  हेरेर मनोरञ्जन लिनेहरुको जमातले अझैपनि

सामन्तवादको फेदमा मलजल गरिरहेका छन् ,

रुख ढलेपनि त्यहिंवाट पलाएको नयां टुसोमा

मलाई वांधिनै राख्ने षडयन्त्र गर्दैछन्  ।

आफ्ना सक्कली दाजु होईनन् भनेर

यिनिहरुलाई चिन्न नसक्नु मेरो कमजोरि थियो,

माफि मागे मैले पत्यायं, अर्को महाभुल भयो ।

अव यिनको पहिचान खुलिसकेको छ,

एक एकलाई गोर्खेलौरि लगाएर नलघारेसम्म

मेरो स्वतन्त्रताको प्यासले मृगतृष्णामै चित्त वुझाउनुपर्नेछ ।

त्यसैले, आंशुवाट शुरु भएको मेरो कथाको अन्त्य हुन

मृत्युमय यौटा भीषण सुनामीको सिर्जना गर्नुपर्ने भएको छ,

मैले फेरि एकपटक आफ्नो पंखेटा फटफटाउनै पर्छ,

सचेतनाको ज्वार उराल्नैपर्छ ।

जिर्णप्रायः भईसकेको छलछामको जञ्जिरलाई चुडालेर –

समाजका अन्तर कुन्तरवाट शुरु हुने स-साना हल्लाहरुदेखि

जातिय, क्षेत्रीय, धार्मिक या पृथकतावादी आन्दोलनहरुलाई

वर्गियताको भट्टिमा खार्दै मुक्तिको लागि अन्तिम युद्ध लड्नैपर्छ,

परिवर्तनको नारालाई खिल्लि उडाउने अनि

शान्तिभुमी, वुद्धको देशमा अनेकों प्रपञ्च रच्दै

स्वतन्त्रतालाई वन्धक राखेर शान्ति विथोल्ने,

असामाजिक तत्वहरुको चांडै अन्त्य गर्नैपर्छ ।

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++

गित

eskhalitsaavan@gmail.com.

परिवर्तनको शंखघोष गर्दैछौं हामी ।

गणतन्त्रलाई संस्थागत गर्दैछौं हामी ।।

परिवर्तनको शंखघोष…………..

स्वतन्त्रता ल्याउनुछ गाउंबस्तिहरुमा

निमुखा सर्वहाराका झुपडिहरुमा

भत्काई पुराना जिर्ण विचारहरुलाई

निर्माणको नयां जग वसाल्दैछौं हामी ।।

परिवर्तनको शंखघोष……………..

जिउदैछन् अझै जनताका ति दुष्मनहरु

अस्तित्व खोज्दैछन् सामन्त दुर्जनहरु

ढालेर शोषणका विषवृक्षजतिलाई

विजयको लालझण्डा फहराउदैछौं हामी ।।

+++++++++++++++++++++++++++++++++++++++++++++++

कविताः कोहि भएन

eskhalitsaavan@gmail.com.

आफ्ना वेदनामा नेपालआमा मृत्युलोक पुगिसकिन्

तर उनको प्राणलाई छुटकारा दिने कोहि भएन ।

पिडाले उनलाई हिक्काहरु उठे , आंशुका ढिक्काहरु जुटे तर

उनका मौन वेदनामा साथ दिने कोहि भएन ।

क्रन्दनले उनका हाडहरु खिईए, रोदनले उनका आंशुहरु सकिए,  तर

उनलाई थापिएको  गुप्त पासो फुकाईदिने कोहि भएन ।

पापीहरुले उनलाई लुटे, वेशर्मीहरुले वलात्कार गरे

तर उनको मौन चित्कारलाई साथ दिने कोहि भएन ।।

०५८ /०२/१९

++++++++++++++++++++++++++++++++++++++++

गित

eskhalitsaavan@gmail.com.

यो चाडपनि त्यसै गयो आउन पाईन यसपाली ।।

अर्को साल त पक्कै आउछु पर्खिबस दीयो वाली ।।

गाउँघर मेलापात गुन्द्रुक मकै भटमास

जिव्रो अझै रसाउने तामाको त्यो तरकारी ।

झंके सांझमा झ्याँउकिरीको झँकारसंगै झनैवढि

याद वढ्छ तिम्रो अचेल सपनामा निन्द्राभरी ।।

यो चाडपनि त्यसै गयो ………………

मातृभुमी, तिम्लाई छाडी पलायन भाको छैन

वाध्यता हो वुझ मेरो विदेश हिड्नु रहर हैन ।

ल्याउदैछु नयाँ सोच नयाँ विचार मनभरि

हटाउनुछ मुलुकवाट अशिक्षा र वेरोजगारि ।।

यो चाडपनि त्यसै गयो ………………..

पुछार खेतको साँध मिच्यो छिमेकिले भन्ने सुन्छु

कालेदाईले पल्लोपाटा कान्लो तास्यो भन्ने सुन्छु ।

यस्तै हुन्छ गरिविमा साँधकिलो राम्रो वान्नु

घरझगडा साम्य पारि सवैजना मिलिवस्नु ।।

यो चाडपनि त्यसै गयो ………………..

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: